काठमाडौं । परराष्ट्र मन्त्री डा. नारायण खड्काले जापानले नेपाललाई गरेको सहयोग निःस्वार्थ रहेको बताएका छन् । नेपाल जाइका अलमनाई एसोसियसन (जान) को ४८औँ वार्षिक समारोह तथा ‘जापान दक्षिण–पश्चिम एसिया विनिमय वर्ष उत्सव’ कार्यक्रममा उनले जापानले निःस्वार्थ रूपमा नेपालको शिक्षा, स्वास्थ्य, कृषि आर्थिक विकासलगायतका क्षेत्रमा लामो समयदेखि निरन्तररूपमा सहयोग गर्दै आएको बताए ।
साथै उनले जापानले नेपालको विकासको लागि विभिन्न क्षेत्रमा गरेको निरन्तर सहयोगको लागि नेपाल सरकारको तर्फबाट जापान सरकारलाई धन्यवाद समेत दिए । आधुनिक जापानको विकासको इतिहास हेर्दा जापानले आफ्ना युवा जनशक्तिलाई विभिन्न देशमा अध्ययन तालिमको लागि पठाई त्यहाँबाट सिकेको शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारसम्बन्धी ज्ञानलाई देश विकासमा लगाउन सकेकोले नै जापानको हालको विकास सम्भव भएको बताए । नेपालले समेत यसबाट शिक्षा लिई सीपयुक्त जनशक्ति विकासमा लाग्नुपर्नेमा उनले जोड दिए । जानका सदस्यहरू जापानबाट अध्ययन र तालिम पूरा गरी जापानी प्रविधिको ज्ञान भएका दक्ष जनशक्ति भएकोले राष्ट्र निर्माणमा जानका सदस्यहरूले महत्वपूर्ण योगदान गर्नसक्ने उनको भनाइ थियो । साथै मन्त्री खड्काले जानका सदस्यहरू जापानमा बस्दा नेपालका दूत र नेपालमा बस्दा जापानको दूतको रूपमा रहेकोले जापानमा सिकेका सीप र ज्ञानको प्रयोग गरी देश विकासमा थप सहयोग गर्न जानका सदस्यहरूलाई आग्रह गरे ।
नेपालका लागि जापानका राजदूत युताका किकुताले जापानले नेपालको विकासको लागि गरेका सहयोगको बारेमा चर्चा गर्दै भविष्यमा पनि यस किसिमका सहयोगले निरन्तरता पाउने बताए । आफूले जापानी राजदूतको जिम्मेवारी लिएर नेपाल आएको झण्डै एक वर्षपछि जानले आयोजना गरेको यस विशेष कार्यक्रममा सहभागी हुने मौका पाएको र कार्यक्रमबाट आफू अत्यन्त प्रभावित भएको उल्लेख गरे ।
जापान–नेपालको मैत्रीपूर्ण सम्बन्धलाई अझै मजबुत बनाउन जानका सदस्यहरूको महत्वपूर्ण भूमिका रहने उनको भनाइ थियो । जाइका नेपालका प्रमुख आकिमिचु ओकुवोले जाइका जापान सरकारको सहयोगमा नेपालमा सञ्चालित कार्यक्रमहरू कार्यान्वयन गर्ने संस्था भएकोले नेपाल सरकारसँग समन्वय गरी नेपालको विकासका लागि काम गरिरहेको बताए । उनले नेपालको जनशक्ति विकासका लागि जाइकाले हरेक वर्ष ठूलो संख्यामा नेपालीहरूलाई विभिन्न अध्ययन भ्रमणमा पठाउने गरेको र तिनै जनशक्ति जानका सदस्यहरू भएकोले उनीहरूको भूमिका नेपालको विकासमा र जापान नेपालको मैत्री सम्बन्ध मजदूत बनाउन महत्वपूर्ण रहेको उल्लेख गरे ।
यस्तै कार्यक्रममा जानको वार्षिक प्रकाशन मिलन पत्रिकाको विमोचन समेत गरिएको थियो । मिलन पत्रिकामा लेख रचना प्रकाशन गर्ने लेखकहरूलाई जानको तर्फबाट सम्मानपत्र समेत प्रदान गरिएको थियो । जानका अध्यक्ष डा. रामचन्द्र भुसालले जापानले आजभन्दा एक सय २० वर्षदेखि हालसम्म नेपालको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार कृषिलगायतका क्षेत्रमा गरेको सहयोग दीर्घकालीन भएको बताए । जापानको सहयोगले नेपालको आर्थिक विकासमा ठूलो सेवा पुगेको उनको भनाइ थियो । साथै जानका सदस्यहरूले आ–आफ्नो स्थानबाट जापान नेपालबीचको मित्रतालाई बलियो बनाउन, जापानमा सिकेका प्रविधिहरू नेपालमा भित्र्याउन र समग्ररूपमा देशको आर्थिक विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उनले बताए । कार्यक्रममा जापानी राजदूत र जाइका नेपालका प्रमुखलाई जानको मानार्थ सदस्यता प्रदान गरिएको थियो ।