नयाँ दिल्ली । पछिल्ला १६ दिनमा कीर्तिमानी दरमा पेट्रोलियम पदार्थको मूल्य बढेपछि यसको माग घट्न थालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । योसँगै अप्रिलको पहिलो १५ दिनमा भारतमा इन्धनको बिक्री घटेको छ । पेट्रोलियम उद्योगको प्रारम्भिक आँकडामा शनिबार यो तथ्य बाहिरिएको हो ।
मार्चको पहिलो १५ दिनको तुलनामा अप्रिलको सोही अवधिमा पेट्रोलको बिक्री करिब १० प्रतिशतले घटेको छ भने डिजलको मागमा पनि १५.६ प्रतिशतले कमी आएको छ । त्यसैगरी उक्त अवधिमा खाना पकाउने ग्यासको खपतमा पनि मासिक आधारमा १.७ प्रतिशत गिरावट आएको बताइएको छ । सार्वजनिक क्षेत्रको तेल कम्पनीले पेट्रोल र डिजलको मूल्य करिब साढे चार महिनासम्म स्थिर राखेपछि २२ मार्चमा पहिलोपटक बढाएका थिए । त्यसपछि छ अप्रिलसम्म १६ दिनभित्रै पेट्रोर र डिजलको मूल्य १०/१० भारु प्रतिलिटरले बढेको थियो ।
भारतमा खाना पकाउने ग्यासको मूल्य पनि २२ मार्चदेखि ५० भारु प्रतिसिलिन्डरले वृद्धि भएको थियो । त्यसपछि दिल्लीमा गैरसब्सिडीमा १४.२ किलोग्रामको एलपीजी सिलिन्डरको मूल्य ९४९.५० भारु भएको थियो । त्यस्तै हवाइ इन्धनमा प्रयोग हुने एटीएफको भाउ पनि नयाँ मूल्यवृद्धिसँगै १ लाख १३ हजार २०२.३३ भारु प्रतिकिलोलिटर भएको थियो । यसको बिक्रीमा मासिक आधारमा २०.५ प्रतिशतले गिरावट आएको बताइएको छ ।
पेट्रोलियम उद्योगहरुको प्रारम्भिक आँकडाअनुसार सार्वजनिक क्षेत्रको तेल कम्पनीले १ बाट १५ अप्रिलको बीचमा ११.२० लाख टन पेट्रोल बिक्री गरेका थिए । जुन पछिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १२.१ प्रतिशत धेरै र सन् २०१९ को सोही अवधिको तुलनामा १९.६ प्रतिशत धेरै हो । यद्यपि पेट्रोलको खपत मार्च २०२२ को सोही अवधिको तुलनामा ९.७ प्रतिशत कम रहेको छ । मार्चको पहिलो १५ दिनमा तेल कम्पनीहरुले कुल १२.४ लाख टन पेट्रोलको बिक्री गरेका थिए ।
भारतमा सबैभन्दा धेरै उपयोगमा जाने डिजलको बिक्री वर्षगत आधारमाा ७.४ प्रतिशतले बढेर करिब ३० लाख टन पुगेको छ । यो मार्च २०१९ को बिक्रीको तुलनामाा ४.८ प्रतिशत धेरै भए पपनि यो वर्ष १ मार्चबाट १५ मार्चको बीचमा भएको ३५.३ लाख टनको बिक्रीको तुलनामा १५.६ प्रतिशतले कम हो । मार्चको पहिलो १५ दिनमा पेट्रोल र डिजलको बिक्री क्रमशः १८ प्रतिशत र २३.७ प्रतिशतले बढेको थियो । मार्चमा डिजलको बिक्री पपछिल्लो दुई वर्षका कुनै पपनि महिनामा भएभन्दा सर्वाधिक बिक्री हो ।