काठमाडौं । सिंगापुरको ध्वजावाहक वायुसेवा कम्पनी सिंगापुर एयरलाइन्सले सोमबारदेखि काठमाडौं उडानमा उच्च गुणस्तरीय क्याबिन सामग्री प्रयोग सुरु गरेको छ । यात्रुहरुलाई उडानका क्रममा लग्जरी सेवा र अनुभव दिने उद्देश्यले यो सेवा सुरु गरेको एयरलाइन्सले जनाएको छ । क्याबिन सामग्रीमा मात्रै कम्पनीले २३ करोड रुपैयाँ खर्च गरेको जनाएको छ ।
’तीन वर्षदेखिको अथक प्रयाससँगै यात्रु र साझेदारको सुझावअनुसार हामीले आफ्नो क्याबिन सेवालाई विस्तार गरेका हौँ । अब हामी छोटो र लामो दूरी यात्रा गर्ने यात्रुलाई फुल सर्भिस नेटवर्कसहित प्रिमियम सेवा दिन सक्नेछौँ’, कम्पनीका कार्यकारी उपाध्यक्ष लिक ह्सिनले भने, ‘हवाइ यातायात सामान्य अवस्थामा फर्किएसँगै अब यात्रुले हाम्रो अन्तर्राष्ट्रियस्तरको सेवा लिन सक्नेछन् ।’ हाल गरिएको विस्तार नेपालस्थित यात्रुहरुका लागि यात्रामा अविस्मरणीय अनुभव दिलाउन महत्वपूर्ण रहने एयरलाइन्सका नेपालस्थित कार्यालयका महाप्रबन्धक मेल्भिन टानले बताए । ‘सिंगापुर काठमाडौं रुटमा यात्रा गर्नेहरुका लागि हालको विस्तार उत्साहप्रद रहनेछ’, महाप्रबन्धक टानले भने ।
कम्पनीले तीन दशकयता नेपालको पर्यटन क्षेत्र प्रवर्द्धनमा ठूलो योगदान पु-याउँदै आएको जीएसए एभरेष्ट एक्सप्रेस इन्टरनेशनलका अध्यक्ष आरआर पाण्डेले बताए । ‘सन् १९८७ देखि कम्पनीले नेपालको पर्यटन र उड्डयन क्षेत्रमा उल्लेख्य योगदान दिँदै आएको छ । कम्पनीले हाल यात्रुलाई अझ सुविधाजनक यात्रा दिनका लागि गरेको यो विस्तारबाट हामी असाध्यै खुसी छौँ’, अध्यक्ष पाण्डेले भने । कम्पनीले आफ्नो बोइङ ७३७–८ सिरिजको जहाजमा १० वटा बिजनेस र एक सय ४४ वटा इकोनोमी गरी कुल एक सय ५४ वटा सिटमा लक्जरीलाई ध्यानमा राख्दै अत्याधुनिक सामग्री समावेश गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीका अनुसार काठमाडौं उडान गर्ने जहाजमा राखेको सिटको डिजाइन लण्डनस्थित फ्याक्ट्री डिजाइनले तयार पारेको हो भने आयरल्यान्डस्थित कम्पनी थम्पसन एरो सिटिङले यी सामग्रीहरुको उत्पादन गरेको हो । जहाजको इकोनोमी क्लासमा स्लिक र स्लिम लाइन सिटको पछिल्लो संस्करण समावेश गरिएको जनाइएको छ । यो सिट कोलिन एरो स्पेसले उत्पादन गरेको हो । इकोनोमी क्लासमा पनि हरेक यात्रुले उच्चस्तरको सेवा लिन सकून् भन्ने उद्देश्यले यो विस्तार गरिएको कम्पनीले जनाएको छ । यात्रुलाई मनोरञ्जन दिनका लागि जहाजमा पानासोनिकको एक्स सिरिज इनफ्लाइट इन्टरटेनमेन्ट सिस्टम जडान गरिएको छ । यसबाट यात्रुहरुले क्रिसवल्र्ड इन्टरटेनमेन्ट कन्टेन्टहरु हेर्न सक्नेछन् । जहाजमा पानासोनिककै वाइफाइ र मोबाइल डाटा कनेक्टिभिटी उपलब्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।