काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले नेपालको पूर्वाधार विकासमा भारतको ठूलो सहयोग आवश्यक रहेको बताएकी छिन् । पूर्वाधार विकासमा नेपाल अहिले पनि पछाडि रहेकाले पछिल्ला वर्षहरूमा भारतले आधुनिक प्रविधि सहितको सडक, टनेल, पुल, सहरी एवं यातायात पूूर्वाधारमा गरेको प्रगति नेपालका लागि पनि अनुकरणीय हुने उनको भनाइ थियो ।
निर्माण उपकरण उद्योगको दक्षिण एसियाकै सबैभन्दा ठूलो कार्यक्रम एक्सकोनको बुधबार पूर्वावलोकन कार्यक्रममा उनले एक्सकोनमा नेपालको सहभागिता महत्वपूर्ण हुने बताइन् । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल निर्माण व्यवसायी महासंघको सहकार्यमा भारतीय उद्योग परिसंघले सो कार्यक्रमको आयोजना गरेको हो । नेपालमा पूर्वाधारमा लगानीको ठूलो अवसर रहेकोले प्रदर्शनीको माध्यममार्फत नेपालको पूर्वाधार विकासमा प्रविधि, लगानी आकर्षणका लागि सहयोग गर्न उनले आग्रह गरिन् । एक्सकोन, भारतीय उद्योग परिसंघद्वारा आयोजित दक्षिण एसियाको सबैभन्दा ठूलो निर्माण उपकरण र निर्माण प्रविधि व्यापार मेला हो । यसको ११औँ संस्करण भारतको बैंगलोर अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र, बैंगलोरमा आगामी जेठ ३ देखि ७ गतेसम्म आयोजना हुँदै छ । सोही प्रदर्शनीका बारेमा जानकारीसहित नेपाललाई उक्त प्रदर्शनीको निम्तो दिन सो कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले एक्सकोनबाट नेपालले पनि फाइदा उठाउने गरी सहकार्य हुनुुपर्नेमा जोड दिँदै नेपाली निजी क्षेत्रले उक्त कार्यक्रममा भाग लिने बताए । उनले भने, ‘भारत नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार हो । भारतले नेपाललाई तेस्रो मुलुकको व्यापारका लागि पारवहन सुविधा दिएको छ ।’ भारतका सार्वजनिक र निजी दुवै क्षेत्रले नेपालमा लगानी गरेका छन् । अत्यन्त नजिकको छिमेकीको नाताले भारतलाई, नेपालको पूर्वाधार विकासमा अझ बढी सहयोग गर्न उनले आग्रह गरे । भारतीय राजदूूतावासका प्रथम सचिव (राजनीति तथा शिक्षा) प्रियदर्शनी आरले नेपालको हरेक विकास प्रयासमा भारतले सहयोग गर्ने बताउँदै एक्सकोन प्रदर्शनीमा परिणामदायीरूपमा सहभागिताका लागि आग्रह गरिन् ।
कार्यक्रममा जानकारी दिइएअनुसार एक्सकोन तीन लाख वर्गमिटर डिस्प्ले क्षेत्रफलमा फैलिनेछ र अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, इटाली, यूएई, दक्षिण कोरिया, सिंगापुर र श्रीलंकाजस्ता देशहरूसहित भारत र विदेशबाट एक हजारभन्दा बढी प्रदर्शकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ । पाँचदिने प्रदर्शनीमा विश्वभरबाट ४० हजारभन्दा बढी व्यापारिक आगन्तुकहरूले भाग लिनेछन् । कार्यक्रममा एक्सकोनका अन्तर्राष्ट्रिय प्रचारप्रसार प्रमुख जयदीप शेखरलेले एक्सकोन एघारौँ संस्करण भएको र यस वर्षको विषयवस्तु ‘नयाँ संसारको लागि भारत निर्माण ः प्रतिस्पर्धात्मकता, विकास’ रहेको बताए । प्रदर्शनीबाट नेपाललाई पनि लाभ हुनेगरी सहयोग गर्न आफूहरू तयार रहेको उनको भनाई थियो । भारतीय निर्माण उपकरण उत्पादक संघका पूर्वअध्यक्ष अरविन्द के गर्गले भारतको सबैभन्दा नजिकको छिमेकी भएकोले, भारतबाट निर्माण उपकरणहरू सोर्सिङमा नेपाललाई रणनीतिक फाइदा रहेको बताए । नेपालका विभिन्न पूर्वाधार आवश्यकताहरूलाई प्रतिस्पर्धी मूल्यमा सस्तो अफरमार्केट सेवाको साथ पूरा गर्न मदत गर्ने र यो मेला नेपालका लागि अझ बढी लाभदायक हुने उनको भनाइ थियो ।
कार्यक्रममा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले एक्सकोन प्रदर्शनीलाई एउटा सहयोगी आर्थिक मञ्चको रूपमा उपयोग गर्न नेपाली निजी क्षेत्रले चाहेको बताउँदै यसमा सहयोग गर्न आयोजकहरूलाई आग्रह गरे । कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले पनि एक्सकोनको सफलताको कामना गर्दै आर्थिक विकासमा सहयोग गर्न आग्रह गरे ।