काठमाडौं । चालू आर्थिक वर्ष २०७८/०७९ मा बजार मूल्यको आधारमा नेपालको अर्थतन्त्रको आकार ४८ खर्ब ५१ अर्ब ६३ करोड रुपैयाँ पुग्ने भएको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको विवरणअनुसार चालू आर्थिक वर्ष २०७८/०७९ मा पाँच दशमलव आठ प्रतिशतले आर्थिक वृद्धि भएर ४८ खर्ब ५१ अर्ब ६३ करोड रुपैयाँबराबरको नेपालको अर्थतन्त्रको आकार पुग्नेछ ।
विभागले बिहीबार पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार चालू आर्थिक वर्षमा नेपालको कुल उत्पादन ७३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ रहने अनुमान छ । नेपालमा उक्त ७३ खर्ब ५६ अर्ब ६१ करोडको उत्पादन हुनका लागि ३२ खर्ब ५१ अर्ब छ करोड रुपैयाँबराबरको वस्तु तथा सेवाको खर्च हुनेछ । त्यसलाई विभागले कुल मध्यवर्ती उपभोग भन्ने गरेको छ ।
उक्त कुल उत्पादन अर्थात् ७३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँबाट मध्यवर्ती उपभोगबापतको रकम ३२ खर्ब ५१ अर्ब छ करोड रुपैयाँ घटाउँदा निस्किने रकम नै कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा अर्थतन्त्रको आकार ४१ खर्ब पाँच अर्ब ५४ करोड रहनेछ । चालू मूल्यमा भने अर्थतन्त्रको आकार ४८ खर्ब ५१ अर्ब ६३ करोड हुनेछ ।
विभागका अनुसार चालू मूल्यमा नेपालमा यो वर्ष वस्तु तथा सेवाको आयात १८ खर्ब २० अर्ब ८२ करोड हुने अनुमान छ । उक्त आयात कुल गार्हस्थ्य उत्पादनको ४१ दशमलव ४९ प्रतिशत हो । तर, यो अवधिमा चालू मूल्यमा वस्तु तथा सेवाको निर्यात भने तीन खर्ब २० अर्ब ७१ करोड अर्थात् कुल गार्हस्थ्य उत्पादनको छ दशमलव ६१ प्रतिशत मात्र हुने विभागको दाबी छ । यसरी हेर्दा नेपालमा यो वर्ष चालू मूल्यमा कुल राष्ट्रिय बचत कुल गार्हस्थ्य उत्पादनको ३१ दशमलव ९५ प्रतिशत मात्र हुनेछ । तथ्यांक विभागका अनुसार प्रतिव्यक्ति आय कुल गार्हस्थ्य उत्पादनमा एक हजार तीन सय ७२ अमेरिकी अर्थात् एक लाख ६४ हजार पाँच सय ९८ रुपैयाँ र प्रतिव्यक्ति कुल राष्ट्रिय उत्पादनमा एक हजार तीन सय ८१ अमेरिकी डलर अर्थात् एक लाख ६५ हजार छ सय ४९ रुपैयाँ पुग्नेछ ।
विभागका अनुसार गत आर्थिक वर्ष २०७७/०७८ मा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) तीन दशमलव ८३ प्रतिशत हुने संशोधित अनुमान छ भने आर्थिक वर्ष २०७६/०७७ मा दुई दशमलव ४२ प्रतिशत ऋणात्मक जीडीपी रहेको विभागको अन्तिम निष्कर्ष छ ।
विभागका अनुसार नेपालको अर्थतन्त्रमा औद्योगिक क्षेत्रको योगदानमा उतारचढाव आएको छ । विभागले औद्योगिक क्षेत्रलाई प्राथमिक क्षेत्र, द्वितीय क्षेत्र र सेवा क्षेत्र गरी तीन भागमा विभाजन गरेर त्यसको योगदानको विश्लेषण गर्ने गरेको छ ।
चालू आवमा कुल गार्हस्थ्य उत्पादनमा सेवा क्षेत्र र द्वितीय क्षेत्रको योगदान केही बढ्ने देखिए पनि प्राथमिक क्षेत्रको योगदान भने गत आर्थिक वर्षभन्दा कमी आएको विभागले दाबी गरेको छ । प्राथमिक क्षेत्रमा कृषि, वन तथा मत्स्य र खानी तथा उत्खनन क्षेत्र पर्छ भने द्वितीय क्षेत्रमा उद्योग, विद्युत् तथा ग्यास, पानीको आपूर्ति र निर्माण क्षेत्र पर्छ ।
त्यस्तै, सेवा क्षेत्रमा थोक तथा खुद्रा व्यापार, आवास तथा भोजन सेवा, यातायात, सञ्चार तथा भण्डारण, वित्तीय मध्यस्थता, घरजग्गा कारोबार, पेशागत तथा प्रशासनिक व्यावसायिक सेवा, सार्वजनिक प्रशासन तथा रक्षा, शिक्षा, स्वास्थ्य र अन्य सेवाहरु पर्छ । जीडीपीमा प्राथमिक क्षेत्रको योगदान २४ दशमलव पाँच प्रतिशत, द्वितीय क्षेत्रको योगदान १३ दशमलव सात प्रतिशत र सेवा क्षेत्रको योगदान ६१ दशमलव आठ प्रतिशतले रहने विभागको प्रारम्भिक अनुमान छ ।