काठमाडौं । सूचना प्रविधिमा महिलाको सहभागिता बढाउन सरोकारवालाहरूले जोड दिएका छन् । अन्तर्राष्ट्रिय गर्ल्स इन आईसीटी दिवसको अवसरमा वुमन इन इन्फर्मेसन टेक्नोलोजी (डब्लूूआईआईटी) आयोजना गरेको एक कार्यक्रममा सरोकारवालाहरूले यस्तो बताएका हुन् ।
उक्त दिवसको अवसरमा डब्लूआईआईटीले बिहीबार ‘सेफर इन्टरनेट एक्सेस फर गल्र्स’ सम्मेलन आयोजना गरेको थियो । सुरक्षित इन्टरनेट पहुँचको नारामा बोकेर सम्पन्न भएको उक्त कार्यक्रममा सूचना प्रविधि क्षेत्रमा आबद्ध करिब ५० महिलाहरुको सहभागिता थियो । कार्यक्रममा सूचना प्रविधि क्षेत्रमा स्थापित अब्बल महिलाहरुले सुरक्षित इन्टरनेट पहुँचका विषयमा कार्यपत्र समेत प्रस्तुत गरेका थिए ।
साइबर सुरक्षा कम्पनी मुनाल टेक प्रालिकी संस्थापक सीईओ मोना न्याँचो, एनसेलको इन्फर्मेसन सेक्युरिटी युनिट हेड यास्मिन भट्टराई र नेपाल प्रहरीकी प्राविधिक तथा इन्जिनियर दिपा भट्टराईले साइबर सुरक्षाका विविध आयाम, थ्रेट र जनचेतनामूलक कार्यपत्र प्रस्तुत गरेका थिए । यसैगरी २०२० की आईसीटी आइकन प्राध्यापक तिमिला यामी थापाले आईसीटी क्षेत्रको आफ्नो यात्रा अनुभव सुनाएकी थिइन् ।
कार्यक्रममा साइबर सुरक्षामै आधारित रहेर एउटा प्यानल छलफल कार्यक्रम समेत आयोजना गरिएको थियो । उक्त प्यानलमा साइबर सेक्युरिटी कम्पनी इमिनेन्स वेजकी विजनेस डेभलपमेन्ट हेड निशा उपाध्याय, नेपाल बैंक लिमिटेडकी इन्फर्मेसन सेक्युरिटी अफिसर आईएसओ बन्दना शर्मा, नेपाल टेलिकमकी निर्देशक विनिता श्रेष्ठ र साइबर सुरक्षा सेवाप्रदायक कम्पनी लगपोइन्टकी सेक्युरिटी अनुसन्धानदाता शुषमा शर्मा रहेका थिए । प्यानल छलफललाई क्यान महासंघकी वरिष्ठ उपाध्यक्ष तथा डब्लूआईआईटीकी कार्यकारी सदस्य रत्न तारा वैद्यले मध्यस्तता गरेकी थिइन् ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले आईसीटी क्षेत्रमा महिलाको सहभागिता बढाउन र साइबर सुरक्षा कायम गर्न आगामी वर्षको बजेट तथा नीति कार्यक्रममा समेत व्यवस्था गर्ने बताए । त्यसका लागि आईसीटी क्षेत्रका विज्ञ महिलाहरुको परामर्शको खाँचो मन्त्रालयलाई सदैव रहेको उनले जानकारी गराए । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले आईसीटीमूलक कार्यक्रमहरु सहरकेन्द्रित भएको भन्दै उपत्यकाबाहिरका सम्पूर्ण सुदूर क्षेत्रमा समेत यस्ता किसिमका कार्यक्रमहरुलाई पु-याउन सुझाव दिए ।
कार्यक्रममा डब्लूआइआईटीले देशव्यापीरुपमा आयोजना गरेको ग्राफिक्स डिजाइन प्रत्योगिताका तीन विजेतालाई समेत सम्मान पुरस्कार प्रदान गरेको थियो । प्रथम हुने सेन्ट जेभियर्सकी सरिता शाक्यले १० हजार, दोस्रो हुने इस्लिङटन कलेजकी स्तुति श्रेष्ठले पाँच हजार र तेस्रो हुने अरनिको उच्च माध्यमिक विद्यालयकी प्रतीक्षा प्रधानले तीन हजार रुपैयाँ राशिको पुरस्कार र सम्मानपत्र प्राप्त गरेका थिए ।
साथै डब्लूआईआईटीले आइतबार साइबर सुरक्षा क्षेत्रमा आबद्ध महिलाहरुका लागि बगभीसँगको सहकार्यमा इस्लिङ्टन कलेजमा लाइभ ह्याकाथन आयोजना गरेको थियो । उक्त ह्याकाथनमा प्रतिस्पर्धी सुरक्षा अनुसन्धानकर्ताहरुले चार घण्टाभित्र ‘फ्ल्याग क्याच’ गरेका थिए । सो प्रतिस्पर्धामा प्रथम हुने गम्भीरता पौडेल १० हजार, दोस्रो हुने निकी सिंहलाई पाँच हजार र तेस्रो हुने क्षिरिङ डोल्कार शेर्पालाई तीन हजार नगद प्रदान गरिएको थियो । विजेतालाई बगभीको गिफ्ट दिइएको थियो भने ह्याकाथनमा सहभागी भएका सबैलाई सर्टिफिकेट पनि प्रदान गरिएको थियो ।