अमेरिका । संसारभरिका वेबसाइटहरुको प्रस्तुति विश्लेषण तथा वरीयता निर्धारण गर्दै आएको एलेक्सा बन्द भएको छ । करिब २६ वर्षसम्म चलेको यो साइट यही मे १ देखि बन्द भएको हो । यसको सञ्चालक कम्पनी अमेजनले सन् २०२१ को डिसेम्बर १० मै यसबारे पूर्वसूचना दिएको थियो । सोहीअनुसार आइतबारदेखि एलेक्सा बन्द भएको हो ।
कम्पनीले एलेक्सा डटकममै साइट बन्द भएको सूचना प्रेषण गरेको छ । ‘दुई दशक बढी समय तपाईंलाई सेवा दिएपछि सन् २०२२ मे १ देखि हामी सेवा प्रदानबाट विदा लिएका छौँ । विषयवस्तुको अनुसन्धान, प्रतिस्पर्धाको विश्लेषण, किवर्ड खोज र अन्य धेरैका लागि हामीलाई स्रोत बनाइदिनुभएकामा तपाईंहरुलाई धन्यवाद !’, सूचनामा भनिएको छ ।
एलेक्सा डटकम सन् १९९६ मा स्थापना भएको थियो । वेब ट्राफिक र विश्वका चर्चित वेबसाइटहरुको विश्लेषणका लागि यसले सुख्याति कमाएको थियो । सन् १९९९ मा अमेजनले यसलाई २५ करोड अमेरिकी डलरमा खरिद–प्राप्ति गरेको थियो । यसले विश्वका ३ करोड बढी वेबसाइटको विश्लेषण र वरीयता निर्धारण गरेको थियो । यसले कुनै पनि वेबसाइटको प्रस्तुतिलगायतको पनि मापन गथ्र्यो । जस्तो वेबसाइटमा भिजिटर कति आउँछन्, प्रस्तुति कस्तो छ जस्ता कुराहरुको यसले विश्लेषण गथ्र्यो र वरीयता दिन्थ्यो ।
सन् २०२१ डिसेम्बर ८ मा कम्पनीले आफ्ना नयाँ सेवा खरिद (सब्सक्रिप्सन) लिन बन्द गरेको थियो । कम्पनीले सन् २०२२ अप्रिल १ सम्म आफ्ना सब्सक्राइबरबाट सेवाबापतको शुल्क लिएको थियो ।