डोटी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कैलालीको धनगढी–डोटीको बिपीनगर, गडसेरा तथा बझाङ उरै हुँदै चीनको ताक्लाकोट जोड्नका लागि सिधा सडक अर्थात् दु्रतमार्ग निर्माण गरिने बताएका छन् ।
कैलालीको धनगढीमा रहेको गेटा विमानस्थल क्षेत्रीय अन्तर्राष्ट्रियस्तरको विमानस्थल स्तरोन्नतिका साथै धनगढी–डोटीको बिपीनगर, गडसेरा तथा बझाङ उरै हुँदै चीनको ताक्लाकोट जोेड्ने सडकको पूर्वाधार निर्माण तथा स्थानीयवासीसँग सुझाव संकलनका लागि डोटीको जोरायल गाउँपालिका–५ गड्सेरा पुगेको मन्त्री आलेले यहाँका स्थानीयवासीसँगको भेटघाट तथा छलफलका क्रममा उक्त सडक निर्माण गरिने बताएका हुन् । कैलालीको धनगढीदेखि चीनको ताक्लाकोटसम्म जोड्न आफूले द्रुतमार्ग निर्माणका लागि पहल सुरु गरेको र सो सडक निर्माण हुने उनको दाबी छ ।
मन्त्री आलेले विगतका सयममा सुदूरपश्चिममा विकासका काम पनि कमी हुने गरेका र बजेट पनि कम आउने भएकाले आफू मन्त्री भएपछि अहिले यहाँ बाँकी रहेका सबै विकासका काम सबै पूरा गरेर देखाउने बताए । यसैगरी मन्त्री आलेले कैलालीको धनगढीदेखि चीनको ताक्लाकोटसम्म सडक जोडिए चीनका पर्यटक पनि सुदूरपश्चिम आउन सहज हुने र भारतका पर्यटक पनि आउने भएकाले पर्यटक यहाँ भित्र्याउनसके यहाँको विकासमा सहज हुने जिकिर गरे ।
छलफलका क्रममा मन्त्री आलेले कैलालीको धनगढीदेखि चीनको ताक्लाकोटसम्म सडक अर्थात् दु्रतमार्ग निर्माणका लागि आफूले एसियाली विकास बैंक (एडीबी)सँग पहल सुरु गरेकाले उक्त सडक निर्माण हुनेमा कुनै शंका नरहेकोसमेत जानकारी दिए । गेटा विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रियस्तरको विमानस्थलका रुपमा विकास गर्नका लागि आफूले यसअघि एक अर्ब रुपैयाँ बजेट विनियोजन गरिसकेको र अबको बजेटमासमेत थप रकम आउने उनले बताए । उक्त छलफलका क्रममा यहाँका नागरिकले मन्त्री आलेलाई कैलालीको धनगढी–डोटीको बिपीनगर, गडसेरा तथा बझाङ उरै हुँदै चीनको ताक्लाकोट जोड्ने सडक निर्माण भए सुदूरपश्चिमको विकासमा ठूलो सघाउ पुग्ने बताएका थिए ।
सुदूरपश्चिमका विभिन्न गाउँमा सडक निर्माण भएका भए पनि ती सडकको स्तरोन्नति नहुँदा सडक सञ्चालनमा समस्या भएको स्थानीयको गुनासो थियो । उक्त दु्रतमार्ग निर्माणका लागि केही समयपहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डा. टोकराज पाण्डेको संयोजकत्वमा एक समिति गठन भएको थियो । राय÷सुझाव संकलनका लागि मन्त्रालयका सहसचिव डा. पाण्डेसहितको टोली हाल डोटी पुगेको हो । टोलीले अहिले उक्त दु्रतमार्ग निर्माण गरिने क्षेत्रका नागरिकसँग सुझाव संकलन गरिरहेको छ ।