काठमाडौं । आगामी दिनमा उच्च शिक्षा अध्ययन गर्नका लागि प्रोत्साहन गर्ने र मिहिनेती हातहरुलाई अझ मिहिनेती बन्न ऊर्जा प्रदान गर्दै केही समय भए पनि रमाइलो बनाउने उद्देश्यका साथ भर्खरै एसईई दिई बसेका छात्रछात्राहरुलाई अन्नपूर्ण केबलकारले केबलकार चढ्दा ५० प्रतिशत छुट प्रदान गर्ने भएको छ ।
यस योजनामा सहभागी हुनका लागि विद्यार्थी छात्रछात्राहरुले यस वर्ष एसईई परीक्षामा सामेल भएको परीक्षा प्रवेशपत्र अनिवार्य देखाउनुपर्नेछ । यो योजना वैशाख ३० गतेसम्म मात्रै लागू हुने केबलकारले जनाएको छ । साथै, नवविवाहित जोडीका लागि पनि अन्नपूर्ण केबलकारले विशेष अफरको घोषणा गरेको छ । जसअन्तर्गत एक टिकटको खरिदमा अर्काे एक केबलकार टिकट निःशुल्क प्रदान गर्नेछ । यस योजनामा सहभागी हुन नवविवाहित जोडीले आफू विवाहित भएको विवाह कार्ड अनिवार्य देखाउनुपर्नेछ । यो योजना भने असार मसान्तसम्म लागू हुने केबलकारले जनाएको छ ।