ढाका । आर्थिक वर्ष २०२१/०२२ मा बंगलादेशको आर्थिक वृद्धिदर ७.२५ प्रतिशत रहेको तथ्यांक सार्वजनिक भएको छ । बंगलादेशको ब्युरो अफ स्टाटिस्टिक्सले सार्वजनिक गरेको तथ्यांकअनुसार उत्पादन क्षेत्रको विस्तारको प्रभाव आर्थिक वृद्धिमा देखिएको हो ।
कोरोना महामारी नियन्त्रणको लागि चालिएका लकडाउनलगायतका कडाइ खुलाइएपछि अर्थतन्त्र सक्रिय बनेको बताइएको छ । यो आर्थिक वृद्धिदर सन् २०१८/०१९ को आवभन्दा हालसम्मकै उच्च हो । त्यो बेला बंगलादेशको कुल गार्हस्थ्य उत्पादन ७.८८ प्रतिशतले वृद्धि भएको थियो । तर सन् २०१९/०२० मा भने बंगलादेशमा ३.४५ प्रतिशत मात्रै आर्थिक वृद्धि भएको थियो । जुन सन् २००० यताकै कम थियो ।
सन् २०२१/०२२ मा बंगलादेशको जीडीपी चार खर्ब ६५ अर्ब अमेरिकी डलर रहेको छ । अघिल्लो आवमो यस्तो आकार चार खर्ब १६ अर्ब अमेरिकी डलर थियो ।
यसैबीच, बंगलादेशीहरुको प्रतिव्यक्ति आम्दानी वर्षगत तुलनामा नौ प्रतिशतले बढेको छ । यो वृद्धिसँगै प्रतिव्यक्ति आय दुई हजार आठ सय २४ अमेरिकी डलर पुगेको बीबीएसले जनाएको छ ।
सन् २०२०/०२१ मा प्रतिव्यक्ति आय दुई हजार पाँच सय ९१ अमेरिकी डलर थियो । घरेलु मुद्रामा उक्त रकम भनेको दुई लाख ४१ हजार चार सय ७० टाका पुग्ने बताइएको छ ।