नयाँ दिल्ली । भारतले नेपाललाई १.७ लाख टन युरिया र डायमोनियम फोस्फेट (डीएपी) मल सहयोग गर्ने भएको छ । छिमेकी देश भारतले यही वर्ष उक्त परिमाणमा मल नेपाल पठाउनलागेको टाइम्स अफ इन्डियाले जनाएको छ ।
त्यस्तै भारतले अहिलेकै एक अर्ब अमेरिकी डलर ऋणअन्तर्गत श्रीलंकालाई पनि ६५ हजार टन युरिया मल आपूर्ति गर्ने भएको छ । आर्थिक संकटमा गुज्रिरहेको श्रीलंकालाई सहयोग गरिरहँदा नेपाललाई भने चीनबाट सहयोग लिनुअघि नै रणनैतिक रुपमा मल सहयोग गर्न लागिएको टीओआईले समाचारमा उल्लेख गरेको छ ।
स्रोतलाई उद्धृत गर्दै लेखिएको समाचारमा भारतले १.२ लाख टन युरिया र ५० हजार टन डीएपी मल पठाउनेछ । त्यस्तै भुटानलाई पनि भारतले ५३ सय टन डीएपी मल पठाउन लागेको जनाइएको छ । रासायनिक मल निर्यातमा प्रतिबन्ध रहिरहँदा भारतबाट युरिया मल पाउने श्रीलंका नेपालपछि दोस्रो देश रहेको बताइएको छ । नेपालले दुई देशबीच भएको समझदारीअनुसार रासायनिक मल पाउनलागेको हो ।