काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड रधनगढी, सुदूरपश्चिम अवस्थित किसान समूहबीच कृषि उत्पादकत्व वृद्धिको लागि ट्र्याक्टर खरिद गर्न लगानी गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा किसान समूहबाट सिफारिस भएका ग्राहकहरूलाई सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको सम्पूर्ण शाखा कार्यालयहरूबाट सोलिस र सोनालिका ट्रयाक्टर खरिद गर्न विपन्न वर्ग कर्जाअन्तर्गत ऋण प्रदान गर्ने र ती ग्राहकहरूलाई किसान समूहले बाई ब्याक ग्यारेन्टी सुविधा समेत उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको छ ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट कृषि तथा विपन्न वर्ग कर्जा प्रमुख प्रविन कुमार दाहाल र किसान समूहका तर्फबाट प्रबन्ध निर्देशक शाहनवाज आलमले हस्ताक्षर गरेका हुन् । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब एक करोड ५६ लाख ८३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकले ३५ करोड ८१ लाख ५० हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
हाल चुक्ता पुँजी नौं अर्ब ५५ करोड ३९ लाख नौ हजार रुपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ९० अर्ब ५२ करोड ४७ हजार रुपैयाँ निक्षेप संकलन गरी ८७ अर्ब दुई करोड २७ लाख ७७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई अर्ब १४ करोड १६ लाख आठ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ९६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दशमलव ९४ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने ५१ करोड २२ लाख ८८ हजार रुपैयाँ रहेको थियो ।
गत आवको सोही अवधिमा भने बैंकले ९३ अर्ब ४९ करोड ६६ लाख २८ हजार रुपैयाँ निक्षेप संकलन गरी ७८ अर्ब सात करोड ८२ लाख ९० हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ९१ करोड ७९ लाख सात हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ९६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव ६० प्रतिशत रहेको थियो ।