बेइजिङ । राष्ट्रपति सी चिनफिङ सत्तामा आएपछि विदेशमा शरण खोज्ने आफ्ना नागरिकको सङ्ख्यामा वृद्धि भएको चीनले बताएको छ । शक्तिको व्यवस्थित दुरूपयोगले जनताको मनमा असहजता पैदा गरेको र त्यसले धेरैलाई विदेशमा शरण खोज्न प्रेरित गरेको हङकङ पोस्टले जनाएको छ ।
राष्ट्रपति सीले आफ्नो शक्तिलाई सुदृढ गर्दै थप दमनकारी शासन प्रणाली लागू गरेपछि शरणार्थी बन्न चाहनेहरूको संख्यामा वृद्धि भएको गैरसरकारी संस्था सेफगार्ड डिफेन्डर्सले विश्लेषणसहित प्रकाशन गरेको तथ्यांकले देखाएको हो ।
कोभिड–१९ विरूद्धको चीनको शून्य नीति र अन्य प्रतिबन्धका बाबजुद शरण खोज्नेहरूको संख्यामा उल्लेख्य वृद्धि भएको जनाउँदै उक्त संस्थाले २०१२ यता करिब सात लाख ३० हजार चिनियाँ नागरिकले विदेशमा शरण मागेका जनाएको छ । शरण माग्ने ती नागरिकमध्ये एक लाख ७० हजारभन्दा बढी चीनबाहिर शरणार्थीका रूपमा जीवनयापन गरिरहेका छन् ।
विदेशमा शरण खोज्ने चिनियाँहरूका लागि अमेरिका सबैभन्दा लोकप्रिय गन्तव्य बनेको, सन् २०२१ मा मुख्य भूमि चीनबाट उसले ८८ हजार सात सय ल२२ आवेदन स्वीकार गरेको, सोही वर्ष अष्ट्रेलियाले १५ हजार सात सय ७४ शरणार्थीलाई लिएको उक्त संस्थाको प्रतिवेदनमा उल्लेख छ ।