अबुजा । नाइजेरियाको राजधानी सहर अबुजाको जेलमा अज्ञात बन्दुकधारीले मंगलबार गरेको आक्रमणमा एक कैदीको मृत्यु भएको छ भने कम्तीमा तीन सय कैदी फरार भएका एक वरिष्ठ सुरक्षा अधिकारीले बुधबार जानकारी दिएका छन् । घटनामा अन्य तीन जना घाइते भएको पनि बताइएको छ । आक्रमणकारीहरूले मंगलबार राति अबुजाको दक्षिण–पश्चिममा पर्ने कुजा क्षेत्रमा रहेको सुधार गृहमा आक्रमण गरेका थिए ।
उनीहरूले करिब छ सय जना कैदीबन्दीलाई छुटाए पनि अहिलेसम्म भाग्ने कैदीबन्दीको आधा सङ्ख्यालाई पुनः सुरक्षा नियन्त्रणमा लिइएको यहाँका आन्तरिक मामिला मन्त्रालयका स्थायी सचिव शुइबु बेगोरले बताए । बेगोरले बुधबार सञ्चारकर्मीहरूसँग बताएअनुसार कट्टरपन्थी समूह बोको हरामका लडाकू दस्ताले आक्रमण गरेको आशंका गरिएको छ । उनका अनुसार केही बोको हराम सदस्य र पुर्पक्षका लागि खडा भएका वा पहिल्यै दोषी ठहरिएका उच्च–प्रोफाइलका सरकारी अधिकारीसहित नौ सय ९४ कैदीहरू उक्त सुधारगृहमा रहेका थिए ।
‘हामीले बुझेका छौँ कि तिनीहरू बोको हराम आतङ्कवादी हुन् र विशेष गरी तिनीहरूले कैदी भगाउने उद्देश्यले नै त्यहाँ आक्रमण गरेका थिए । एक वक्तव्यमा नाइजेरिया सुधार सेवा (एनसीएस) का राष्ट्रिय प्रवक्ता अबुबकर उमरले उक्त आक्रमणलाई सुरक्षा निकायहरूले सफलतापूर्वक विफल पारेको बताए ।