काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल चीन लगानी सम्मेलनलाई सहयोग गर्न बेइजिङस्थित नेपाली दूतावासलाई आग्रह गरेका छन् । कार्यवाहक अध्यक्ष ढकाल र जनवादी गणतन्त्र चीनका लागि नवनियुक्त नेपाली राजदूत विष्णु पुकार श्रेष्ठबीच बिहीबार भएको भेटवार्तामा ढकालले महासंघ लगानी सम्मेलन गर्ने योजनामा रहेको जानकारी गराउँदै यसमा सहयोग गर्न आग्रह गरे ।
महासंघले सम्मेलनलाई प्रमुख प्राथमिकतामा राखी आयोजना गर्न चाहेकाले त्यहाँ रहेर आवश्यक सहयोग गरिदिने कार्यमा राजदूतबाट नेतृत्वदायी भूमिकाको अपेक्षा गरेको उनले बताए । नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्न आवश्यक रहेको उनको भनाइ थियो । कोभिड पछि आएको विश्वव्यापी मन्दीको परिवेशमा नेपालको बैंकिङ प्रणालीमा टेवा पु-याउन पनि चिनियाँ लगानी ल्याउने कार्यमा नेपालको कूटनीति सक्रिय रुपमा लाग्नुपर्ने उनको सुझाव थियो ।
कार्यवाहक अध्यक्ष ढकालले नेपाली वस्तुहरुको चीनमा निर्यात प्रवर्द्धन गर्ने कार्यमा र नेपालमा चिनियाँ पर्यटन बढाउन राजदूतावासको सहयोगको अपेक्षा निजी क्षेत्रले गरेको बताए । ढकालले महासंघ, अखिल चीन उद्योग वाणिज्य महासंघ र अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनका लागि चिनियाँ परिषद्बीच प्रगाढ सम्बन्धलाई थप उपलब्धिमूलक बनाउनुपर्नेमा पनि जोड दिए । त्यसमा सहयोग गर्न राजदूत श्रेष्ठलाई आग्रह समेत गरे । महासंघ सहसभापति रहेको दुवै देशका सरकारको सहयोगमा सन १९९६ मा स्थापित नेपाल–चीन गैरसरकारी सहयोग मञ्चमार्फत समेत दुई देशबीच आर्थिक व्यापारिक सम्बन्ध विस्तार, लगानी, प्रविधि, सीप आकर्षणमा सहकार्य गर्न महासंघ तयार रहेको र त्यसमा हाम्रो कूटनीतिक तवरबाट पनि सहयोग हुनुपर्नेमा उनको जोड थियो ।
सो अवसरमा राजदूत श्रेष्ठले महासंघबाट आएका सुुझावलाई आफूले प्राथमिकताका साथ अगाडि लैजाने विश्वास दिलाएका थिए । उनले कृषि क्षेत्रको विकासको लागि सहकार्य गर्न चिनियाँ प्रविधि तथा लगानी भित्र्याउनुका साथै अनुसन्धानमा सहकार्य गर्ने आफ्नो प्राथमिकताको एक पक्ष रहेको बताए । साथै उनले नेपाली वस्तुको माग रहेका चीनका लक्षित प्रान्त एवं बजारसँग आर्थिक व्यावसायिक सम्बन्ध गाँस्ने रणनीतिसहित नेपाली निर्यात चीनमा बढाउने आफ्नो योजना रहेको सुनाए ।