टोक्यो । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको पार्थिव शरीर शनिबार उनको गृहनगर टोक्यो ल्याइएको छ । जापानको पश्चिमी सहर नारामा भएको निर्वाचन अभियानलाई सम्बोधनका क्रममा उनीमाथि गोली हानी हत्या गरिएको थियो । गोली लागी घाइते भएका आबेलाई उपचारका लागि तत्काल स्थानीय अस्पतालमा पु-याइएको थियो । स्थानीय समय अनुसार शुक्रबार साँझ ५ः०३ बजे उनको मृत्यु भएको घोषणा गरिएको थियो । जापानी पूर्वप्रधानमन्त्रीको पार्थिव शरीर लिएर शिन्जोकी पत्नी अकी आबे पार्थिव शरीरसँगै टोक्यो आएको अमेरिकी टेलिभिजन सीएनएनले आबेको कार्यालयलाई उद्धृत गर्दै जानकारी गराएको छ । एनएचके वर्ल्डका अनुसार आबेको पार्थिव शरीर बोकेको गाडी स्थानीय समय अनुसार शनिबार १ः३० बजे टोक्योको शिबुया जिल्लास्थित आवेको घरमा आइपुगेको हो । जापानका प्रधानमन्त्री फुमिओ किशिदा पनि पूर्वप्रधानमन्त्रीको पार्थिव शरीर रहेको घरमा पुगी उनीप्रति श्रद्धासुमन अर्पण गरेका छन् । उनले पूर्वप्रधानमन्त्री आवेकी धर्मपत्नीलाई भेटी समवेदना अर्पण गरेको एजेन्सीहरुले जनाएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार सोमबार राति दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै रात्रि जागरण र प्रार्थना गरिनेछ भने अन्त्येष्टि मंगलबार गरिनेछ । यसैबीच प्रहरीले पश्चिमी जापानको नारा सिटी निवासी ४१ वर्षीय तेत्सुया यामागामीलाई आबेको हत्याको प्रयास गरेको आशंकामा पक्राउ गरी सोधपुछ जारी राखेको छ । यसैबीच विश्व नेताहरुले आबे परिवारप्रति सहानुभूति प्रकट गरेका छन् । साथै, उनीहरूले हत्याको निन्दा र पूर्वप्रधानमन्त्री आवेसँगको सहकार्यको स्मरण गर्दै दिवंगत नेताप्रति श्रद्धासुमन अर्पण गरेका छन् । जापानी प्रधानमन्त्री फुमिओ किशिदाले शुक्रबार नै राष्ट्रका नाममा सम्बोधन गर्दै ‘यो अक्षम्य कार्य हो’ र जापानी अधिकारीहरूले ‘यस परिस्थितिलाई सम्हाल्न उचित कदम चाल्नेछन्’ भनेका थिए । किसिदाले आबेको गोली हानी हत्या गरिनुको कारण अझै थाहा नभएको पनि उक्त सम्बोधनमा बताएका थिए । साथै, उनले अनुसन्धान जारी रहेकाले यसबारे कुनै पनि राजनीतिक प्रभावबारे अनुमान नगर्न सबैसँग अनुरोध गरेका थिए ।