काठमाडौं । अन्ततः सेयर बजार परिसुचक दुई हजार अंकमा चढेको छ । अघिल्लो दिन ५९ अंकले बढेको सेयर बजार परिसुचक साताको पाँचौं कारोबार दिन आज बिहिबार पुन १४ दशमलव ७१ अंकले बढेपछि दुई हजार एक दशमलव ५३ बिन्दुमा पुग्न सफल भएको छ । ‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ७८ अंकले उकालो लागेर तीन सय ८३ दशमलव १४ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २० वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ३९ हजार एक सय ६८ पटकको कारोबारमा ६२ लाख १० हजार नौं सय आठ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल सेयर कारोबार रकम दुई अर्ब ४१ करोड १८ लाख ३४ हजार पाँच सय ९९ रुपैंयाँ पुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएको कुल उपसमुहहरु मध्ये सबै उपसमुहहरुको सुचक उकालो लागेर सेयर बजार परिसुचक पुरै हरियो भएको छ ।