काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रशाद अधिकारीविरुद्ध अख्तियार दुुरूपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल)ले गभर्नर अधिकारीविरुद्ध अख्तियारमा उजुरी दर्ता गराएको हो ।
आफ्नो शैक्षिक योग्यता ढाँटी राष्ट्रसेवक भई कसुर गरेको, नेपाल राष्ट्र बैंकको ऐन २०५८ को दफा २१ को (क) अनुसार राजनीतिक दलको सदस्य वा पदाधिकारी भएको कुनै पनि व्यक्ति गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक पदमा नियुक्त हुन योग्य हुने छैन भन्ने व्यवस्थाको प्रतिकूल हुनेगरी गभर्नर पदमा बहाल रहेकै अवस्था दलको कार्यकर्ता भएको लगायतका आरोप लगाउँदै वाईसीएलले आयोगमा उजुरी दर्ता गरेको जानकारी दिएको छ ।
गभर्र्नर अधिकारीले पदमा बहाल नै रहेको अवस्थामा राष्ट्र बैंकको स्वायत्तता, गभर्नरको जवाफदेहिता र देशको मौद्रिक नीतिको संवेदनशीलतामाथि गम्भीर प्रश्न उठेको तथा राज्यलाई गम्भीर हानी नोक्सानी पुग्ने खतरा देखिएकाले आवश्यक छानबिन गरी भ्रष्टाचार कसुरमा कारबाही गर्न उजुरीमा माग गरिएको वाईसीएलले जानकारी दिएको छ ।