काठमाडौं । नागरिक लगानी कोषले २०७९ साउन १ गतेदेखि लागू हुने सहभागीहरूलाई प्रदान गर्ने ब्याजदर परिवर्तन गरेको छ । कोषले कर्मचारी वचत वृद्धि स्वीकृत अवकाश कोषमा दिँदै आएको ६ दशमलव पाँच प्रतिशतको ब्याजदरलाई वृद्धि गरी आठ प्रतिशत पु-याएको छ भने ८० प्रतिशत विशेष ऋण सापटीको ब्याजदर नौ दशमलव पाँच प्रतिशत निर्धारण गरेको छ ।
त्यसैगरी मिति २०७९ साउन १ देखि लागू हुनेगरी आवास कर्जाको ब्याजदर १० प्रतिशत, शैक्षिक कर्जामा १०, सवारी कर्जामा १० दशमलव पाँच र सरल कर्जामा १० दशमलव पाँच प्रतिशत, उपदान कोष र लगानीकर्ता हिसाब योजनामा सात दशमलव पाँच प्रतिशत, नागरिक एकांक योजनामा नौ प्रतिशत ब्याज रकम प्रदान गर्ने निर्णय गरेको छ ।
कोषले बीमातर्फका सबै कार्यक्रमहरूमा वार्षिक सात दशमलव पाँच प्रतिशत ब्याज प्रदान गर्ने निर्णय गरेको छ । कोषले बीमा कार्यक्रमअन्तर्गत निजामती, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सामुदायिक विद्यालयको शिक्षकसहितका राष्ट्रसेवक कर्मचारीहरूको कार्यक्रम सञ्चालनका लागि वीमा शुल्क संकलनको कार्य गर्दे आएको छ ।
राष्ट्र सेवक कर्मचारीहरूबाट आगमी वर्षको लागि आवश्यक पर्ने बीमाशुल्क कोषमा मौज्दात वा संकलन भएको अवस्थामा सम्बन्धित राष्ट्रसेवक कर्मचारीको बीमा राष्ट्रिय बीमा संस्थानमा गरिदिने व्यवस्था कोषले मिलाएको छ ।