जकार्ता । इन्डोनेसियाले पामजन्य निर्यातमा लगाएको अतिरिक्त शुल्क निश्चित अवधिका लागि हटाएको छ । जकार्ताले सबैखाले पामतेलजन्य उत्पादनमा लिँदै आएको लेभी अगस्ट ३१ सम्मका लागि हटाएको हो ।
इन्डोनेसियाको वित्त मन्त्रालयका अधिकारीहरुले यो कदमलाई निर्यात बढाउने कदमका रुपमा रहेको बताएका छन् । यो कदमले सरकारको राजस्वमा पनि केही प्रभाव नपर्ने उनीहरुको भनाइ छ । इन्डोनेसिया विश्वकै ठूलो पाम तेल निर्यात गर्ने देश हो । यो निर्णयसँगै पाम तेलको मूल्यमा अझै गिरावट आउन सक्छ । अप्रिलयता पामतेलको मूल्य आधाजसोले घटिसकेको छ । गत मे २३ मा इन्डोनेसियाले तीन हप्ताका लागि पाम तेल निर्यातमा प्रतिबन्ध लगाएको थियो । उक्त प्रतिबन्ध हटाएयता जकार्ताले स्थानीय बजारमा बिक्री गर्न अनिवार्य भएको नियम लागू गरेको छ ।
इन्डोनेसियाले योसँगै निर्यात कर समेत हटाउने प्रयास गरेको छ । यसका बाबजुद पाम निर्यात उत्साहजनक रुपमा भने हुनसकेको छैन । मे महिनाको अन्त्यसम्म इन्डोनेसियामा कच्चा पाम तेल ७२ लाख ३० हजार टन भण्डार गरिएको थियो ।