काठमाडौं, फागुन ११
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले थप चार वटा शाखा विस्तार गरेको छ । बैंकका अनुसार बुधबारबाट मोरङको कञ्चनबारी (राजवंशी चोक), कास्कीको हस्पिटल चोक (पोखरा) र कैलालीको अत्तरिया तथा सुखड शाखाहरु सञ्चालनमा ल्याएको हो ।
उक्त शाखाहरुको शुभारम्भ समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । नेपाली जनतामाझ आफ्नो उपस्थितिलाई दरो बनाउन तथा आमनागरिकलाई अत्यावश्यक वित्तीय सेवाको पहुँच प्रदान गर्ने उद्देश्यका साथ बैंकले शाखाहरु विस्तार गरेको हो ।
सरकारले अवलम्बन गरेको वित्तीय समावेशिताको अवधारणालाई कार्यान्वयन गर्न शाखा संजालको विस्तारले टेवा पुग्ने विश्वास बैंकले लिएको छ । यी शाखाहरुमार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पु-याउने लक्ष्य बैंकले राखेको छ ।
सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, एटीएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटोछरितो, चुस्त र दुरुस्तरूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ । सरकारले वित्तीय पहुँच तथा समावेशिता वृद्धि र औपचारिक अर्थतन्त्रको प्रवर्द्धनका लागि सबै नेपालीको बैंक खाता भन्ने नीति अवलम्बन गरेको छ । यसलाई मुर्तरुप प्रदान गर्न बैंकले थप चार वटा नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ ।
संघीयतालाई दह्रो र सहज बनाउन अतुलनीय भूमिका निर्वाह गर्दै आएको बैंकले प्रदेश नं १ मा १२, प्रदेश नं २ मा ८, वाग्मती प्रदेशमा ३९, गण्डकी प्रदेशमा ७, प्रदेश नं ५ मा १३, कर्णाली प्रदेशमा ७ तथा सुदूरपश्चिम प्रदेशमा ७ गरी कुल ९३ वटा शाखा कार्यालयहरुबाट ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।
सूचना प्रविधिमा आएको परिवर्तनलाई अंगीकार गर्दै बैंकले ग्राहकवर्गलाई घरमै बसेर छिटोछरितो, चुस्त र दुरुस्त रूपमा वित्तीय सेवा सुविधा उपभोग गर्न मिल्ने विभिन्न प्रविधिमैत्री योजनाहरु समेत सञ्चालनमा ल्याएको छ । बैंकले नेपाल राष्ट्र बैंकबाट ख वर्गको इजाजतप्राप्त सहयोगी विकाश बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी अन्तिम सम्झौतामा हस्ताक्षर गरिसकेको छ । प्राप्तिपश्चात् बैंकको कुल शाखा एक सय सात पुग्नेछ भने प्रदेश नं २ मा थप १३ तथा वाग्मती प्रदेशमा १ शाखाहरु सञ्चालनमा आउनेछन् ।
बैंकले देशैभरी फैलिएका आफ्ना ९३ वटा शाखा, ९० वटा एटीएम र एक सय तीनवटा शाखा रहित बैंकिङ एकाइहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिजासँगको सहकार्यमा बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि पीओएस मेसिनमार्फत सामान वा सुविधा खरिद गर्दा २० प्रतिशतसम्म क्यास ब्याक (नगद फिर्ता) हुने योजना सञ्चालनमा रहेको छ ।