काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड १८औँ वर्षमा प्रवेश गरेको छ । वित्तीय कारोबार सञ्चालन सुरुवात गरेको अवधि १७ वर्ष पूरा गरी यही साउन छ गतेबाट १८ वर्षमा प्रवेश गरेको हो ।
बैंकले आफ्नो १७औँ वार्षिक उत्सवको अवसरमा बिहीबार दिन बिरामीहरूको उपचारमा सहयोग पु¥याउने हेतु बैंकको केन्द्रीय कार्यालय रहेको स्थान बिर्तामोड, झापामा रक्तदान कार्यक्रम सम्पन्न गरी विभिन्न शुभेच्छुक व्यक्तिहरू, संघसंस्थाका पदाधिकारीहरू, बैंकका कर्मचारीहरूबाट ५३ पिन्ट रगत संकलन गरी रेडक्रस सोसाइटी, उपशाखा बिर्तामोड झापालाई प्रदान गरिएको जानकारी दिएको छ ।
यसैगरी शुक्रबार वार्षिक उत्सवका दिन बिहान ७ बजे बैंकको केन्द्रीय कार्यालय रहेको स्थान बिर्तामोड, झापामा विभिन्न वित्तीय चेतनामूलक प्लेकार्डहरूसहित प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको थियो भने वार्षिकोत्सव कार्यक्रम औपचारिकरूपमा सिद्धार्थ होटल, बिर्तामोड, झापामा आयोजना गरिएको बैंकले जनाएको छ ।
झापा जिल्लाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको यस बैंकले हाल झापा, इलाम, मोरङ, सुनसरी र पाँचथरका विभिन्न ४४ स्थानमा अवस्थित आफ्ना शाखा कार्यालयहरूमार्फत ग्राहकहरूसमक्ष बैंकिङ सेवा प्रदान गरिरहेको छ भने चालू आवमा प्रदेश नं. १ भर आफ्नो कारोबार सञ्चालन गर्ने उद्देश्यका साथ आवश्यक न्यूनतम चुक्ता पुँजी पूरा गरिसकेको हुनाले आफ्नो कार्यक्षेत्र विस्तार गर्दै कार्यक्षेत्रभित्रका जिल्लाहरूमा थप नयाँ शाखाहरू स्थापना गर्ने लक्ष्य लिएको छ ।
सञ्चालक समितिका अध्यक्ष महेन्द्र कुमार गोयलको अध्यक्षतामा आयोजित उक्त वार्षिक उत्सव कार्यक्रमको सञ्चालन कम्पनी सचिव श्याम बहादुर बोहोराले गरेका थिए । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत डा. ईन्द्रकुमार कट्टेलले स्वागत मन्तव्यसहित बैंकका वर्तमान गतिविधिहरूको बारेमा मन्तव्य राखेका थिए ।
यसैगरी बैंकका संस्थापक सेयरधनी डा. रूपक खनाल, बिर्तामोड खानेपानी आयोजना तथा मेची आँखा अस्पतालका अध्यक्ष जल कुमार गुरुङ, सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत महेन्द्र कुमार गिरीले बैंकको उन्नति तथा प्रगतिका लागि शुभकामना मन्तव्य राखेका थिए ।