काठमाडौं । सिप्रदी अटोपार्ट्स प्रालि र टाटा मोटर्स लिमिटडको आयोजनामा नेपालभर छरिएर रहेका मेकानिकहरुको सीप र क्षमताको प्रतिस्पर्धा सम्पन्न भएको छ । उक्त प्रतिस्पर्धामा बनेपाका उमेश मानन्धर प्रथम भएका छन् । यस्तै बुटवलका अम्बर गुरुङ द्वितीय र काठमाडौंका डेम लामाले तृतीय स्थान हासिल गरे । प्रतियोगिता लिखित र मौखिक दुई चरणमा आयोजना गरिएको थियो । पहिलो चरणमा दुई सय र दोस्रो चरणमा ३० जना प्रतिस्पर्धीको सहभागिता रहेको थियो ।
टाटा मोटर्स्का सवारीसाधनहरुलाई देशको जुनसुकै स्थानमा जुनसुकै समयमा मर्मतसम्भार सहज रुपमा प्राप्त होस् भन्ने उद्देश्यले स्थानीय मेकानिक्सहरुसँग सहकार्यका विभिन्न कार्यहरु अगाडि बढाएको जनाएको छ । जसमध्ये टाटा गुरु कार्यक्रम एउटा महत्वपूर्ण कार्यक्रम हो । बजारमा रहेका टाटा गुरुहरुको क्षमताको परीक्षण गरी आवश्यक सुधार गर्नुपर्ने ठाउँहरुको पहिचान गर्नका निमित्त टाटा गुरुहरुको क्षमताको प्रतिस्पर्धा गर्ने कार्यक्रमकोे नाम गुरुक्षेत्र रहेको सिप्रदी अटोपार्ट्स प्रालिका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकी बताउँछन् । साथै यस प्रतिस्पर्धाबाट उत्कृष्ट तीन जनालाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पनि पठाइने उनले जानकारी दिए ।
तीन सयभन्दा बढी मेकानिक्सहरुको सहभागिता रहेको उक्त कार्यक्रममा अन्य विभिन्न क्षेत्र र विधामा पनि उत्कृष्टता हासिल गर्ने टाटा गुरुहरु पुरस्कृत भएका छन् । चितवनको सेभेन स्टार होटलमा आयोजना गरिएको कार्यक्रममा सिप्रदी ग्रुप अफ कम्पनिजका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले सबै टाटा गुरुहरुको क्षमता अभिवृद्धिको जिम्मेवारी सिप्रदीले लिने बताए ।