काठमाडौं । एक्सेल डेभलपमेन्ट वैंक लिमिटेडले सोमबार सञ्चालक समितिका अध्यक्ष महेन्द्र कुमार गोयलको अध्यक्षतामा सोह्रौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभाले आव २०७७/०७८ को वितरणयोग्य सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी एक अर्ब १५ करोड १७ लाख ९२ हजारको आठ दशमलव ५० प्रतिशतका दरले बोनस सेयर र उक्त बोनस सेयरबापतको कर प्रयोजनको लागि शून्य दशमलव ४५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नुका साथै बैंकको कार्यक्षेत्र प्रदेश नं. १ का सवै जिल्लाहरूमा विस्तार गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
झापा जिल्लाको विर्तामोडमा केन्द्रीय कार्यालय रहेको यस बैंकले हाल झापा, इलाम, मोरङ, सुनसरी र पाँचथरका विभिन्न ४४ स्थानमा अवस्थित आफ्ना शाखा कार्यालयहरूमार्फत ग्राहकहरूसमक्ष बैंकिङ सेवा प्रदान गरिरहेको छ भने चालू आवमा प्रदेश नं. १ भर आफ्नो कारोबार सञ्चालन गर्ने उद्देश्यका साथ आवश्यक न्यूनतम चुक्ता पुँजी पूरा गरिसकेको हुनाले नियामक निकायको स्वीकृति लिई आफ्नो कार्यक्षेत्र विस्तार गर्दै कार्यक्षेत्रभित्रका जिल्लाहरूमा थप नयाँ शाखाहरू विस्तार गर्ने लक्ष्य रहेको बैंकले जानकारी दिएको छ ।