काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी श्याम बहादुर थापा पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक श्याम कुमार महतोका अनुसार श्याम बहादुर दर्जी उपनामले समेत चिनिने थापालाई काठमाडौंको चन्द्रागिरि नगरपालिका क्षेत्रबाट पक्राउ गरिएको हो ।
थापाले सानिमा बैंक लिमिटेड, नयाँबजार शाखा कार्यालय, काठमाडौंमा रहेको आफ्नो खाताबाट रकम भुक्तान हुने भनी उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर उच्च अदालत पाटनले गरेको र सोही आधारमा बैंकिङ कसुर मुद्दामा फैसला गर्दै प्रतिवादी थापालाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा जम्मा पाँच दिन कैद र १५ लाख १९ हजार सात सय ५० रुपैयाँ जरिवाना हुने ठहर भएको प्रवक्ता महतोको भनाइ छ ।
अदालतको उक्त फैसलालगत्तै फरार रहेका थापालाई सीआईबीको फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले चन्द्रागिरि न.पा.वडा न २, बलम्बुबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरेको प्रवक्ता महतोले जानकारी दिए ।