काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको सञ्चालक समितिले प्रविण कृष्ण श्रेष्ठलाई सर्वसम्मतरूपमा सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ । नवनियुक्त अध्यक्ष श्रेष्ठले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा १२७ (२) बमोजिम नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनासमक्ष बुधबार पद तथा गोपनीयताको शपथग्रहण गरेको बैंकले जानकारी दिएको छ ।
नवनियुक्त अध्यक्ष श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट एमबीएसम्मको शिक्षा हासिल गरी स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लि. (साबिक नेपाल ग्रीन्डलेज बैंक लिमिटेड) र माछापुच्छ्रे बैंक लिमिटेडको उच्च ब्यवस्थापन तहमा रही करिब दुई दशक नेपालको बैंकिङ क्षेत्रमा सेवा पु-याउनु भएपश्चात् विगत चार वर्षदेखि लुम्बिनी विकास बैंकको सञ्चालक रहँदै आएका छन् । उनको कुशल नेतृत्वमा लुम्बिनी विकास बैंकले थप प्रगति गर्ने विश्वास लिइएको छ । शपथग्रहणको अवसरमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, निर्देशक बुद्धराज शर्मा, लुम्बिनी विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराको उपस्थिति रहेको थियो ।