काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चिकित्सा उपचारको क्षेत्रमा आम सर्वसाधारणको भरोसाको केन्द्रविन्दुको रूपमा रहेको वीर अस्पतालको स्तरोन्नतिका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । वीर अस्पतालको १३३औँ वार्षिकोत्सवको अवसरमा बिहीबार आयोजित कार्यक्रममा उनले वीर अस्पतालले स्थापनाकालदेखि हालसम्म मुलुकमा स्वास्थ्योपचारको क्षेत्रमा अतुलनीय योगदान पु¥याएको उल्लेख गर्दै यसको स्तरोन्नतिको लागि सरकार प्रतिबद्ध रहेको बताए । आम सर्वसाधारणलाई गुणस्तरीय आधुनिक स्वास्थ्योपचार सेवा प्रदान गरी यस अस्पतालले आम जनताको विश्वास जित्न सकेको उनको भनाइ छ ।
विसं २०७२ को गोरखा भूकम्पमा होस् वा कोभिड–१९ जस्तो महामारीको कठिन परिस्थितिमा यस अस्पतालका स्वास्थ्यकर्मी, चिकित्सकलगायत अन्य जनशक्तिले बिरामीको स्वास्थ्योपचारका लागि गरेको अमूल्य सेवा र सहयोगका लागि उनले धन्यवाद समेत दिए । प्रधानमन्त्री देउवाले अस्पतालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नै एउटा छुट्टै पहिचान बनाई बिरामीको सुविधाका लागि ९६० शय्यासम्मको क्षमता अभिवृद्धि गरी अन्तर्राष्ट्रियस्तरको सेवा प्रदान गर्ने वातावरण सिर्जना गर्न सकेकोमा बधाइ समेत दिए । यस्तै भक्तपुरको दुवाकोटमा बनाउने भनिएको अस्पतालको निर्माण हालसम्म सुरु हुन नसकेको आफ्नो ध्यानाकर्षण भएको बताउँदै उनले त्यसलाई प्राथमिकता साथ अघि बढाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन समेत दिए ।
आम सर्वसाधारणले प्रयोग गर्ने यस अस्पतालमा (आईसीयू) सघन उपचार कक्ष र भेन्टिलेटरलगायतका चिकित्सा उपकरण आवश्यक संख्यामा व्यवस्था गर्न पर्याप्त बजेट छुट्याउन पनि उनले सम्बन्धित निकायलाई निर्देशन दिए । साथै उनले अस्पतालमा पर्याप्त जनशक्तिको व्यवस्था गर्न र कार्यरत जनशक्तिको मनोबल उच्च राख्न सहयोग पु¥याउने कार्यक्रम कार्यान्वयनमा ल्याउन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पदाधिकारीलाई आग्रह गरे । प्रधानमन्त्री देउवाले स्वास्थ्य क्षेत्रको विकासका लागि सरकारले प्राथमिकताका साथ बजेट छुट्याई यस क्षेत्रमा भौतिक संरचनाको निर्माण तथा मानवीय जनशक्तिको विकासलगायतका कार्यका लागि विभिन्न कार्यक्रम कार्यान्वयनमा ल्याएको जानकारी समेत दिए । जनतालाई गुणस्तरीय स्वास्थ्य सुविधा उपलब्ध गराउँदै दिगो विकासअन्तर्गतको स्वास्थ्यसम्बन्धी लक्ष्य हासिल गर्न तथा आम सर्वसाधारणलाई सहज तवरमा स्वास्थ्योपचार सेवा पु-याउन सरकार प्रयत्नशील रहेको उनको भनाइ थियो ।
स्वास्थ्य सेवालाई सम्भव भएसम्म सस्तो र सर्वसुलभ बनाई सबैको पहुँचमा पु-याउन सबैले मिलेर कार्य गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले वीर अस्पतालले गरिब, निमुखा र विपन्न वर्गका बिरामीलाई सहुलियतपूर्ण ढङ्गले स्वास्थ्यसेवा उपलब्ध गराउँदै आएकोमा आभार व्यक्त गरे । वीर अस्पतालले समयानुकूल विभिन्न सेवा र प्रविधि थप गरी आफ्नो सेवालाई नागरिकको आवश्यकताअनुसार विस्तार गर्दै लगेकोमा खुसी व्यक्त गर्दै प्रधानमन्त्री देउवाले केही समययता मत्थर भएको कोभिड–१९ महामारी पुनः विस्तारै फैलिँदै जाने खतरा देखिएको बताए । कोभिड–१९ महामारीलाई पूर्णरूपमा नियन्त्रण गर्दै भविष्यमा आउनसक्ने अन्य विविध किसिमका महामारीसँग समेत जुध्ने सामथ्र्य विकास गर्नुपर्नेमा उनले जोड दिए । क्यान्सरजस्तो घातक रोगका बिरामीलाई समेत सहज उपचार पाउने गरी आवश्यक व्यवस्था मिलाउन अस्पताल व्यवस्थापनले ध्यान दिने आफूले विश्वास लिएको उनले बताए ।
प्रधानमन्त्री देउवाले भविष्यमा विश्वको प्रमुख स्वास्थ्य समस्या भनेको सर्नेभन्दा पनि नसर्ने रोग हुन्छन् भनेर विश्व स्वास्थ्य संगठनले पूर्वानुमान गरेको सन्दर्भमा हामीले पनि नसर्ने रोगका बिरामीको स्वास्थ्योपचारका लागि क्षमता विकास गर्दै जानुपर्नेमा जोड दिए । यस सन्दर्भमा स्वास्थ्य क्षेत्रमा विभिन्न उपयोगी कार्यक्रमलाई प्रभावकारीरूपमा लागू गरेर देशमा स्वस्थ नागरिकको संख्या वृद्धि गर्न र उपचार खर्च घटाउन ध्यान दिन जरुरी रहेको उनको भनाइ थियो ।