सोल, फागुन १२
दक्षिण कोरियामा प्राणघातक कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएको पाइएको छ । केही दिनदेखि संक्रमितहरुको संख्या बढ्दै गएकोमा आइतबारसम्म ६ सय जना बढीमा यो भाइरस संक्रमण फेला परेको छ । त्यसैगरी मृत्यु हुनेको संख्यामा पनि बढेर छ जना पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।
मृतकमध्ये एक पुरुषको चेङ्दुस्थित अस्पतालमा मृत्यु भएको हो । देशको दक्षिणी क्षेत्रमा पर्ने सो सहरमा रहेको अस्पतालमा अरु १०० जना विरामी रहेका छन् । पछिल्लो समयमा भेटिएका संक्रमितमध्ये ७५ जना अर्को दक्षिणी सहर डाएगुमा रहेको शिन्चेन्जी इसाई चर्चमा भेटिएका हुन् । कोरियाली प्रकोप नियन्त्रण तथा रोकथाम केन्द्रले दिएको जानकारी अनुसार चर्चमा सहभागी भएका मध्ये सयौंलाई कोरोना संक्रमण भएको छ । चर्चमा पहिलो संक्रमण यही फेब्रुअरी १० तारिखका दिन ६१ वर्षीया एक महिलामा देखिएको थियो । त्यही नै पछि फैलिंदै गएको अधिकारीहरुले जनाएका छन् ।
कोरियाको डाएगु सहर देशकै चौथो ठूलो सहर मानिन्छ जहाँ २५ लाख मानिस बस्छन् । यसैबीच दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनले कोरोना भाइरस नियन्त्रणका लागि देशभरी सबैभन्दा उच्च सतर्कता अपनाइएको बताएका छन् । संक्रमित हुनेहरुको संख्या एकाएक अत्यधिक तीव्र गतिमा बढ्न थालेपछि सतर्कता बढाइएको उनले आइतबार जानकारी दिए । आगामी केही दिन संक्रमणकालीन अवस्था रहने भएकाले नियन्त्रण तथा उपचारमा पर्याप्त ध्यान दिनु पर्ने उनको भनाइ छ ।
राष्ट्रपति मुनले भाइरस नियन्त्रणका लागि अपनाउनु पर्ने उपायहरुका बारेमा छलफल तथा तयारी भइरहेको पनि जानकारी दिए । ‘सरकारले भाइरस नियन्त्रणका लागि पर्याप्त गृहकार्य र सतर्कता अपनाएको छ, ती सबै काम विज्ञहरुको सुझावका आधारमा गरिएको छ’, उनले भने ।