काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आम्दानीभन्दा धेरै खर्च गरेको छ । गत आर्थिक वर्षमा प्राधिकरणले सात अर्ब ४४ करोड ७१ लाख रुपैयाँ आम्दानी गरेको छ । उसले ल्यान्डिङ, पार्किङ, नेभिगेसन, भाडालगायतबाट उक्त आम्दानी गरेको हो । जुन प्रस्तावित आम्दानीभन्दा १६ दशमलव ६७ प्रतिशतले बढी हो । प्रस्तावित आम्दानी छ अर्ब ३८ करोड २९ लाख रुपैयाँ थियो ।
उसले गत आर्थिक वर्षमा ल्यान्डिङ, पार्किङ, नेभिगेसन, भाडा गरी छ अर्ब ४३ करोड ९७ लाख रुपैयाँ र हवाइ सुरक्षामार्फत एक अर्ब ७४ लाख रुपैयाँ आम्दानी गरेको छ । ल्यान्डिङ, पार्किङ, नेभिगेसन, भाडामार्फत पाँच अर्ब ५९ करोड २९ लाख रुपैयाँ र हवाइ सुरक्षामार्फत ७९ लाख रुपैयाँ आम्दानी गर्ने आकलन गरेको थियो ।
यस्तै, गत आर्थिक वर्षमा प्राधिकरणले चालू, पुँजीगत र वित्तीय व्यवस्थापनतर्फ गरी २१ अर्ब ३२ करोड एक लाख रुपैयाँ खर्च गरेको छ । जुन विनियोजित बजेटको ४८ दशमलव ८१ प्रतिशत खर्च हो । जसमा पुँजीगत खर्च ४१ दशमलव ७० प्रतिशत अर्थात् १३ अर्ब ३६ करोड रुपैयाँ, चालू खर्च ७९ दशमलव ४२ प्रतिशत अर्थात् तीन अर्ब २६ करोड २७ लाख रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ ६२ दशमलव ३५ प्रतिशत अर्थात् चार अर्ब ६९ करोड ७४ लाख रुपैयाँ प्राधिकरणले खर्च गरेको छ ।
यसैबीच, गत आर्थिक वर्षको लागि सरकारले प्राधिकरणका लागि चालू, पुँजी र वित्तीय व्यवस्थापनको लागि भन्दै ४३ अर्ब ६७ करोड ७७ लाख रुपैयाँ विनियोजन गरेको थियो । जसमा पुँजीगत शीर्षकमा ३२ अर्ब तीन करोड ५८ लाख रुपैयाँ, चालू शीर्षकमा चार अर्ब १० करोड ८१ लाख रुपैयाँ र वित्तीय व्यवस्थापन शीर्षकमा सात अर्ब ५३ करोड ३८ लाख रुपैयाँ गरी कुल ४३ अर्ब ६७ करोड ७७ लाख रकम विनियोजन गरिएको थियो ।
पुँजीगत खर्च भए पनि हवाइ क्षेत्रका पूर्वाधारको विकास भने हुनसकेको पाइँदैन । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया अघि बढाउने विषय आर्थिक वर्ष २०७८/०७९ मा उल्लेख गरिए पनि उक्त काम हुन सकेन । बजेटको बुँदा नम्बर ३५२ मा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन निर्माण, लगानीको ढाँचा निर्धारण र तदनुरुपको पूर्वाधार विकास एवं सञ्चालनका लागि अन्तर्राष्ट्रिय लगानीकर्ता छनौट गरिने भनिएको छ । आर्थिक वर्ष २०७८/०७९ मा जग्गा अधिग्रहण, साइट क्लियरेन्सलगायत विमानस्थल निर्माणको पूर्वतयारीका कार्य सम्पन्न गरिने बजेटमार्फत बताइएको थियो । तर, ती काम हुन सकेन ।
गत वर्षको बजेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई नेपालको मौलिक संस्कृति झल्किने बुटिक विमास्थलमा रुपान्तरण गर्न प्रारम्भ गरिएको स्तरोन्नति कार्य सम्पन्न गरिने उल्लेख थियो । यस विमानस्थलको हवाइ चापलाई सम्बोधन गर्न ट्याक्सी–वे विस्तार, पार्किङ वे निर्माण सम्पन्न गरिने भनिएको थियो । टर्मिनल भवनको स्तरोन्नति आरम्भ गरिने पनि बजेटमा उल्लेख थियो । यसका लागि छ अर्ब ९५ करोड रुपैयाँ विनियोजन गरिएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हकमा भने धेरै काम सम्पन्न भएका छन् । जस्तो बुटिक विमानस्थलमा रुपान्तरण गरिने, टर्मिनल भवको स्तरोन्नति गरिने लगायतका काम भएका छन् । बजेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको बाँकी निर्माणकार्य सम्पन्न गरी चालू आर्थिक वर्षमा सञ्चालनमा ल्याउने सरकारको उद्देश्य रहेको थियो । जसका लागि आठ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको थियो ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्पन्न गरी सञ्चालनमा ल्याउन तथा दोस्रो टर्मिनल भवन र अन्य पूर्वाधार निर्माण सुरु गरिने बताइएको थियो । जसका लागि तीन अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरिएको थियो । तर पोखरामा विमानस्थल भने सञ्चालनमा आउनसकेको छैन । यसका साथै आन्तरिक विमानस्थल निर्माण तथा थप गर्ने आकस्मिक स्वास्थ्य सेवा, विपद् व्यवस्थापन लगायत अत्यावश्यक कार्यका लागि चालू आर्थिक वर्षभित्र सबै स्थानीय तहमा हेलिप्याड निर्माण सम्पन्न गर्ने बताइएको थियो ।
यसैबीच चालू आर्थिक वर्षका लागि भने नागरिक उड्डयन क्षेत्र विस्तारका लागि १२ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरेको छ । सरकारले बजेटमार्फत यस वर्षभित्रै नागरिक उड्डयन प्राधिकरणको संगठन संरचना परिमार्जन अर्थात् सेवा र नियमनकारी गरी दुई निकायमा विभाजन गर्ने सरकारको योजना रहेको छ । यसका साथै त्रिभुवन विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अधिग्रहण गरिएका जग्गाको मुआब्जा वितरण गर्ने, त्रिभुवन विमानस्थलमा ह्यांगर क्षेत्र विकास, ट्याक्सी वे तथा एप्रोन विस्तार कार्य गरिने बताइएको छ । यस्तै, नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानमा हवाइ यातायात नियन्त्रक (एटीसी) उपकरण खरिद तथा जडान गर्ने र विमानस्थल तथा हेलिप्याडको थप निर्माण गर्ने बताइएको छ ।