काठमाडौं । वैदेशिक रोजगार विभागले विज्ञापन प्रकाशन नगर्ने इजाजतपत्रवाला एक सय ४८ संस्थालाई जरिवाना गराएको छ । विभागले राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गर्नका लागि विभागबाट पूर्वस्वीकृति लिएर विज्ञापन प्रकाशन नगर्ने उक्त संस्थालाई ५० हजारका दरले जरिवाना गराएको हो ।
उक्त जरिवानाबाट ७४ लाख रूपैयाँ रकम संकलन गरिएको विभागले जनाएको छ । साउन ३ र ४ गते विज्ञापन प्रकाशनका लागि अनुमति लिएर पनि विज्ञापन प्रकाशन नगरेकाले उनीहरूलाई वैदेशिक रोजगार ऐन २०६४ को दफा ४९ बमोजिम जरिवाना गराएको विभागका महानिर्देशक शेषनारायण पौडेलले जानकारी दिए । उनीहरूले विज्ञापन प्रकाशन गरे नगरेकोबारे विभागले एक महिना लगाएर अनुगमन गरेको महानिर्देशक पौडेललेले बताए । संस्थाले विज्ञापन प्रकाशनको नाममा ऐनको दफा ४९ उल्लंघन गरेको विभागको भनाइ छ । वैदेशिक रोजगार ऐन २०६४ को दफा ४९ को १ मा कुनै पनि इजाजतपत्रवालाले दफा १६ बमोजिम विज्ञापन प्रकाशन नगरेमा वा विभागको स्वीकृतिविना विज्ञापन प्रकाशन गरेमा विभागले त्यस्तो इजाजतपत्रवालालाई ५० हजार रूपैयाँ जरिबाना गरी त्यस्तो विज्ञापन रद्द गर्न लगाउने कुरा उल्लेख छ ।
ऐनअनुसार कुनै पनि मेनपावरले रोजगारदाता संस्थासँग भएको सम्झौता वा सहमतिका आधारमा वैदेशिक रोजगारमा कामदार पठाउनुपूर्व रोजगारदाता संस्थाको नाम, ठेगाना र कामदार पठाउने मुलुक, वैदेशिक रोजगारको किसिम, कामदारको किसिम र संख्या, कामदारले पाउने तलब सुविधासहितको जानकारीसहित सूचना प्रकाशित गर्नुपर्छ । सूचनामा बिदा, कामदारले काम गर्नुपर्ने दिन र समय, वैदेशिक रोजगारमा जाने मुलुकको आधिकारिक निकाय वा कूटनीतिक नियोग वा श्रम सहचारी वा चेम्बर अफ कमर्स वा नोटरी पब्लिकबाट प्रमाणित गरिएको मागपत्र र अख्तियारनामाको सक्कल प्रति, रोजगारदाता संस्था र कामदारबीच हुने करारको प्रतिलिपि, इजाजतपत्रवाला र कामदारबीच हुने करारको प्रतिलिपि हुनुपर्नेछ ।
ऐनअनुसार विभागबाट स्वीकृति प्राप्त भएपछि इजाजतपत्रवालाले तोकिएबमोजिमको विवरण खुल्ने गरी कामदार छनोट गर्न राष्ट्रियस्तरको कुनै पनि दैनिक पत्रिकामा कम्तीमा सात दिनको म्याद दिई विज्ञापन प्रकाशन गर्नुपर्नेमा सो नगरेको विभागको भनाइ छ । यसरी प्रकाशित भएको सूचना सम्बन्धित इजाजतपत्रवालाले आफ्नो कार्यालयको सूचना पाटीमा टाँस गरी सो सूचनाको एक प्रति सोही दिन विभागसमक्ष समेत पेस गर्नुपर्ने उल्लेख छ ।