काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले नौ करोड ७५ लाख रुपैयाँबराबरको साधारण सेयर निष्काशन गर्ने भएको छ । संस्थाले यही साउन १८ गतेबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी नौ लाख ७५ हजार कित्ता साधारण सेयरको बिक्री खुला गर्न लागेको हो ।
बिक्री गरिने कुल सेयरमध्येमा शून्य दशमलव पाँच प्रतिशत अर्थात् १२ हजार पाँच सय कित्ता सेयर कर्मचारीको लागि, पाँच प्रतिशत अर्थात् ४८ हजार सात सय ५० कित्ता सेयर सामूहिक लगानी कोषको लागि र बाँकी रहेको नौ लाख १३ हजार सात सय ५० कित्ता सेयर सर्वसाधारणको लागि बिक्री हुनेछ । लगानीकर्ताहरूले न्यूनतम १० र अधिकतम तीन सय कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्नेछन् ।
अधिकृत पुँजी ३० करोड, जारी पुँजी २५ करोड रुपैयाँ रहेको संस्थाको हाल चुक्ता पुँजी १५ करोड २५ लाख रुपैयाँ रहेको छ । साधारण सेयरको बिक्रीपश्चात् भने संस्थाको चुक्ता पुँजी २५ करोड रुपैयाँ पुग्नेछ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको संस्थाको साधारण सेयरको बिक्रीकार्य छिटोमा यही साउन २२ गते र ढिलोमा भदौ एक गते बन्द हुनेछ ।