काठमाडौं । सानिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई वहन गर्ने क्रममा शिक्षा, स्वास्थ्यलगायत अन्य क्षेत्रहरूमा विपन्न वर्गका जनतालाई प्रत्यक्ष फाइदा हुनेगरी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।
यसैअनुरुप सानिमाले विगत लामो समयदेखि काठमाडौं उपत्यकाबाहिरका प्रत्येक शाखाहरूबाट कक्षा ११ र १२ का लागि दुई/दुई जना विद्यार्थीलाई विद्यार्थीकै रोजाइको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । सोही कार्यक्रमलाई निरन्तरता दिँदै बैंकले उच्च माध्यमिक तह (प्लस टु) अध्ययन गर्नका लागि काठमाडौं उपत्यकाबाहिरका शाखाहरूबाट छात्रवृत्ति आवेदन खुला गरेको छ ।
उक्त छात्रवृत्तिअन्तर्गत शैक्षिक शुल्क, शैक्षिक सामग्री र नगदवृत्ति दुई हजार रुपैयाँ प्रतिमहिना गरी प्रत्येक विद्यार्र्थीलाई ५० हजार रुपैयाँसम्मको छात्रवृत्ति प्रदान गरिने बैंकले जानकारी दिएको छ । बैंकका अनुसार छात्रवृत्ति आवेदन २०७९ भदौ ३१ गतेसम्म दिन सकिनेछ ।
यो छात्रवृत्तिसम्बन्धी विस्तृत जानकारी बैंकको वेबसाइटमा उपलब्ध छ । बैंकले देशका सातवटै प्रदेशमा एक सय २७ वटा कार्यालय तथा एक सय २० वटा एटीएम सञ्चालनमा रहेका छन् ।