लन्डन, फागुन १३
सोमबार अन्तर्राष्ट्रियबजारमा चार प्रतिशतले घटेको छ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण अन्य देशमा समेत उत्तिकै फैलिनथालेपछि त्यसको असर अन्तर्राष्ट्रिय तेल बजारमा देखिएको रोयटर्सले जनाएको छ । लगानीकर्ताहरुको ध्यान त्यसले तान्दा कच्चा तेलको मागमा त्यसको प्रभाव देखिएको हो ।
भाइरस रोकिने छाँटकाँट नदेखिँदा ग्लोबल इक्विटी घाटामा गएको हो । पछिल्ला केही दिनयता इरान, इटली र दक्षिण कोरियामा कोरोना संक्रमितको संख्या दोब्बरले बढेपछि चिन्ता छाएको छ । सोमबार ब्रेन्ट क्रुड ४ प्रतिशत अर्थात् २.३४ अमेरिकी डलरले घटेर ५६.१६ डलर प्रतिब्यारेल कायम भएको छ । अमेरिकी क्रुड फ्युचर पनि २.०५ डलर अर्थात् ३.८ प्रतिशतले घटेर ५१.३३ डलर प्रतिब्यारेल कायम भएको छ । पछिल्ला दिनमा कोरोना संक्रमण झन् फैलिएपछि लगानीकर्ताहरुले यसलाई रोक्न नसकिने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन् ।
दक्षिण कोरियको चौथो ठूलो सहर थेगुमा संक्रमितको संख्या ह्वात्तै बढेको छ । कोरियामा सात जनाको भाइरसका कारण मृत्यु भइसकेको छ । त्यस्तै इटलीमा पाँच जनाको मृत्यु र १ सय ५० जना फ्लुजन्य भाइरसबाट संक्रमित भइसकेका छन् । यता इरानमा ६१ जनामा संक्रमण र १२ जनाको मृत्यु भइसकेको छ । यसबाहेक अफगानिस्तान, इराक, कुवेत, साउदी अरेबिया र टर्कीले इरानमा यात्रा प्रतिबन्ध जारी गरेका छन् । कोरोनाकै कारण अर्थतन्त्र समेत प्रभावित हुने डर पैदा हुनथालेको छ ।
तेलको मूल्यमा सोमबार चीनका चार प्रान्तले भाइरस संक्रमण घटाएको बताएपछि राहत भएको थियो । आइतबार मात्रै चिनियाँ राष्ट्रपति सि चिनफिङले भाइरसको अर्थतन्त्रमा पर्ने प्रभाव रोक्न आवश्यक नीति अवलम्बन गर्ने प्रतिबद्धता जनाएका थिए । अमेरिकामा तेल उत्पादन लगातार तेस्रो हप्ता बढेको छ । बैंक अफ अमेरिका ग्लोबल रिसर्चले सन् २०२० का लागि ब्रेन्ट क्रुड ६२ डलर प्रतिब्यारेल हुने अनुमान प्रक्षेपण गरेको छ ।