काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको मृत्यु भएको छ । ललितपृुरको मेडिसिटी अस्पतालमा उपचारार्थ रहेका गिरिको शनिबार राति ९ः३० बजे निधन भएको नेपाली कांग्रेसका संसदीय दलका सचेतक मीनबहादुर विश्वकर्माले जानकारी दिए । नेपाली कांग्रेसले उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ । उनको शव आइतबार बिहान ९ बजेदेखि ११ बजेसम्म नेपाल मेडिसिटी अस्पताल ललितपुरको शिवालयमा श्रद्धाञ्जलिको लागि राखिने भएको छ । त्यसपछि दिउँसो २ बजेसम्म नेपाली कांग्रेस केन्द्रीय कार्यालय बीपी स्मृति भवन सानेपा ललितपुरमा श्रद्धाञ्जलिको लागि राखिनेछ । तत्पश्चात् अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा लगिने नेपाली कांग्रेसले जनाएको छ ।स्व. गिरिको ७५ वर्षको उमेरमा निधन भएको हो । उनी क्यान्सरबाट पीडित थिए । भारतमा उपचाररत रहेका उनलाई केही दिनअघि नेपालमा ल्याइएको थियो । चार दिनयता अस्पतालको भेन्टिलेटरमा अक्सिजन दिएर राखे पनि शनिबार राति उनको निधन भएको हो । भारतमा नयाँ दिल्ली र मुम्बईमा घाँटीको सफल शल्यक्रिया गरेर नेपाल ल्याए पनि उनलाई निमोनिया भएको थियो । त्यसपछि उनी मेडिसिटीमा भर्ना भएका थिए । उनी सानै उमेरमा राजनीतिमा संलग्न भएका थिए । वि.सं. २०१७ देखि भने उनी राजनीतिमा सक्रिय रहँदै आएका थिए । वि.सं. २०२५ सालमा उनी १८ महिना र २०४२ सालमा झण्डै एक वर्ष गरी कुल चार वर्ष जेलजीवन समेत बिताएका थिए । ०२४ सालमा उनी नेपाल छात्र संघ (बनारस)को निर्वाचित उपाध्यक्ष रहेका उनी हाल कांग्रेस केन्द्रीय सदस्य थिए । २०५१ को संसदीय निर्वाचनमा उनी सिरहा क्षेत्र नं. ५ बाट निर्वाचित भएका थिए । २०५६ सालको संसदीय निर्वाचनमा समेत उनले भाग लिएका थिए । २०६४ र २०७० संविधानसभा निर्वाचनमा समानुपातिक सभासद निर्वाचित भएका थिए । २०७४ को संसदीय निर्वाचनमा प्रत्यक्ष निर्वाचित भई हाल सांसद रहेका थिए । उनले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नातकोत्तर गरेका थिए । अध्ययनमा विशेष रुचि राख्ने गिरिलाई समाजवादी चिन्तकका रुपमा समेत लिइन्छ । उनका एक छोरा र श्रीमती छन् ।