काठमाडौं । भारतीय पक्षले प्रतिबद्धताअनुसार काम नगरेको कारण भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म पेट्रोल ल्याउनसकिएको छैन । मोतिहारीबाट २०७६ भदौ २४ देखि पाइपलाइनबाट डिजेल आयात सुरु भए पनि पेट्रोल भने पाइपलाइनबाट आउने अझै दुई वर्ष लाग्ने अनुमान गरिएको छ ।
भारत विहारको मोतिहारीदेखि अमलेखगञ्जसम्म पाइपलाइनबाट पेट्रोल आयात गर्ने दोस्रो चरणको परियोजनाअन्तर्गत पूर्वाधार निर्माणकार्य नभएको कारण पेट्रोल पाइपलाइनबाट आउन नसकेको हो । मोतिहारीदेखि अमलेखगञ्ज ७६ किमिको दूरीमा छ ।
नेपाल र भारतबीच २०७२ सालमा भएको सम्झौताअनुसार दोस्रो चरणको कार्यअन्तर्गत नेपाल र भारतबीच भएको सम्झौताअनुसार दोस्रो चरणको कार्य इन्डियन आयल कर्पोरेसन (आईओसी) को प्राविधिक सहयोगमा अमलेखगञ्ज डिपोको हाताभित्र पेट्रोल भण्डारण गृह (ट्याङ्क) निर्माण गर्नुपर्ने थियो । तर, भारतले प्रतिबद्धताअनुसार समयमै भण्डारण निर्माण नगरिदिँदा पेट्रोल पाइपबाट ल्याउन नसकिएको हो । लिखित प्रतिबद्धताअनुसार पहिलो चरणको काम सक्नासाथ भारतले दोस्रो चरणको परियोजनाअन्तर्गत अमलेखगञ्जमा पेट्रोलको डिपो बनाइदिने सुरु गर्नुपर्ने थियो । तर, त्यो काम भारतले गरेन । ताकेता गरेपछि मात्र भारतले भण्डारण निर्माण सुरु गरेको छ ।
नेपालका तर्फबाट तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापा र भारतका तर्फबाट प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानबीच २०७२ भदौ ७ गते पेट्रोलियम पाइपलाइन परियोजना निर्माण गर्नका लागि सम्झौता भएको थियो । सम्झौता भएको लामो समयपछि मात्र डेढ वर्षपछि अर्थात् आगामी सन् २०२४ जनवरीमा पूर्वाधार निर्माण सकेर पाइपलाइनबाट पेट्रोल आयात गर्ने आयल निगमको छ । तर, त्यसका लागि भारत प्रतिबद्ध हुनुपर्छ । उसले बहानाबाजी ग-यो भने त्यो समयमा पनि भण्डारण निर्माण पूरा हुनेछैन ।
उक्त पूर्वाधार निर्माण गर्न एक अर्ब ३० करोड लागत लाग्ने अनुमान गरिएको छ । दोस्रो चरणअन्तर्गत अमलेखगञ्जमा पेट्रोल भण्डारण गर्न चार हजार एक सय किलोलिटर क्षमताका दुई ट्याङ्की निर्माण भइरहेको छ । साथै डिजेल र पेट्रोलको गुणस्तर परीक्षण गर्न प्रयोगशाला र आधुनिक प्रविधिसहित ट्याङ्कर लोड र अनलोड गर्न २४ वटा लोडिङ फिलिङ्गसेट निर्माण गर्न लागिएको नेपाल आयल निगमका एक अधिकारीले जानकारी दिए ।
यो प्रणालीबाट लोड अनलोड गर्दा आगलागीको जोखिम कम हुन्छ । पेट्रोल चोरी र ढुवानीको समस्या हट्ने बताइएको छ । त्यस्तै मोतिहारीमा पनि पेट्रोल भण्डारणगृह निर्माण भइरहेको छ । विगतमा रक्सौलबाट अमलेखगञ्जसम्म ३५ किमिको दूरीमा ट्याङ्करमार्फत पेट्रोलियम पदार्थअन्तर्गत पेट्रोल र डिजल आयात भइरहेको थियो । हाल पाइपलाइनबाट प्रतिघण्टा दुई सय ५० किलोलिटरका दरले डिजेल आयात भइरहेको छ ।
पहिलो चरणको परियोजनामा पाइपलाइनमार्फत डिजल आयात गर्न नेपाल आयल निगम र आईओसीको संयुक्त लगानीमा मोतिहारीदेखि अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माणको काम दुई अर्ब ७५ करोड भारतीय रुपैयाँमा सम्पन्न भएको थियो । अमलेखगजञ्मा हाल १९ हजार किलोलिटर क्षमताको डिजेल र दुई हजार एक सय किलोलिटर पेट्रोल भण्डारण गर्ने क्षमता छ ।