काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवर्द्धन, दुर्गम क्षेत्रमा पूर्वाधार सुधार, सामाजिकरूपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षणसम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आइरहेको छ ।
सोही क्रममा बैंकले एक कार्यक्रमका बीच मुसिकोट सेरिगाउँ रुकुमको यमुनानन्द नमूना माध्यमिक विद्यालयलाई बेन्च र डेस्कको व्यवस्थापनको लागि चार लाख ६९ हजार नौ सय १० रुपैयाँ आर्थिक सहयोग गरेको छ । सो कार्यक्रममा एभरेष्ट बैंकका संस्थागत सामाजिक उत्तरदायित्व कमिटीका तर्फबाट सदस्य डा. गणेश राज गुरुङले विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष महेन्द्रराज गौतमलाई चेक हस्तान्तरण गरेका हुन् । यसबाट विद्यालयको समष्टिगत विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । सो कार्यक्रममा बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेतीको समेत उपस्थिति रहेको थियो ।
बैंकमा हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहकहरू रहेको दाबी बैंकले गरेको छ । बैंकले देशैभरि छरिएर रहेको आफ्नो एक सय १८ वटा शाखा सञ्जाल, चारवटा एक्सटेन्सन काउन्टर, सातवटा प्रादेशिक कार्यालय, एक सय ५२ वटा एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।