दोलखा । भौगोलिक हिसाबले ठूलो र विकट मानिने जिल्लाको गौरीशंकर गाउँपालिकाले स्थानीय जनता तथा उपभोक्ताको सेवा सहजताको लागि वडा नम्बर– ७ भोर्लेमा छुट्टै सेवाकेन्द्र स्थापना गरेको छ ।
सातामा दुई दिन खुल्ने उक्त सेवा केन्द्रमा पालिकाले दिने सबै सेवा उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ । पालिकाको स्थायी केन्द्रबाट हुने सम्पूर्ण सेवा दिन थालेपछि पछिल्ला दिनहरूमा सेवाकेन्द्रमा सेवाग्राही वृद्धि भएको गौरीशंकर गाउँपालिका उपाध्यक्ष श्यामसुन्दर तामाङले जानकारी दिए । आइतबार र सोमबार खुल्ने सेवा केन्द्रमा १५ देखी २५ जना सेवाग्राही सेवा लिन आउने गरेका छन् । यस गाउँपालिका साविकका सातवटा गाविसहरू जुगु, झ्याँकु, सुरी, चंखु, मार्वु, खारे र गौरीशंकर मिलेर बनेको छ । भौगोलिक असहजताका कारण यस पालिकाभित्रका एउटा वडाबाट अर्को वडामा जान समेत घण्टौँ लाग्ने गर्छ । हाल पालिकाको स्थायी केन्द्र भएको ठाउँमा दुईवटा वडाबाहेक अन्य सबै वडालाई अपायक पर्ने भएकोले वडा नम्बर–५ भोर्लेमा सोवा केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको उपाध्यक्ष तामाङले जानकारी दिए । गत साउनदेखि सेवाकेन्द्र सञ्चालनमा ल्याइएको उनले बताए ।
सेवाकेन्द्रमा पछिल्ला दिनमा सिफारिस लिने, व्यक्तिगत समस्या टिपाउने, योजना सम्झौता गर्ने, कृषि सेवा, पशुसेवा माग गर्ने सेवाग्राही वृद्धि भएका छन् । पालिकाको उक्त सेवा केन्द्रमा खानेपानीको माग गर्दै निवेदन दिन आएका गौरीशंकर गाउँपालिका वडा नम्बर–७ का टाँसिमान शेर्पा भन्छन्, ‘यसअघि एउटा निवेदन दिन घण्टौँ हिँडेर गाउँपालिका कार्यालय धाउनुपर्ने बाध्यता थियो, अहिले भोर्लेमा सेवा केन्द्र राखेपछि सामान्यदेखि महत्वपूर्ण सेवा लिन धेरै सहज भएको छ ।’ जलविद्युत् उत्पादनको हिसाबले निकै राम्रो सम्भावना बोकेको पालिकामा हिउँद–बर्खा सुचारु हुने राम्रो सडक निर्माण हुन सकेको छैन । यस गाउँपालिका सुन्दर प्राकृतिक सम्पदाले धनी मानिन्छ । यसपालिका छिमेकी देश चीनको सिमाना रहेको छ ।