एजेन्सी नयाँ दिल्ली, फागुन १६
एप्पलका प्रमुख कार्यकारी टिम कुकले कम्पनीले भारतमा पहिलो स्टोर सन् २०२१ मा खोल्ने बताएका छन् । सँगसँगै एप्पलले अर्को अनलाइन आउटलेट पनि भारतमा खोल्ने भएको छ । त्यसका लागि कम्पनीले प्रक्रिया समेत थालिसकेको छ । स्थानीय साझेदारविना नै खोल्न लागिएको स्टोरका लागि भारत सरकारबाट विशेष प्रमाणीकरण आवश्यक पर्छ । कुकले कम्पनीका सेयरसदस्यहरुको वार्षिक बैठकमा यस्तो घोषणा गरेका बीबीसीले जनाएको छ । उक्त बैठकमा लगानीकर्ताहरुले सरकारले मार्केटप्लेसबाट एप हटाउन आग्रह गर्दा कम्पनीले दिने प्रतिक्रिया पनि परिवर्तन गर्नुपर्ने प्रस्तावबारे समेत भोटिङ भएको थियो । तर पारित भने हुन सकेन ।
विश्वकै दोस्रो ठूलो स्मार्टफोन बजारमा एप्पलको आगमन पहिलेदेखि नै प्रतीक्षाको विषय बनेको छ । तर कम्पनीले मिति नै तोकेर घोषणा गरेको भने यो नै पहिलो भएको बताइएको छ । सन् २०१८ मा भारतले कानुन परिवर्तन गर्दै विदेशी कम्पनीलाई एक्लौटी स्टोर खोल्न निषेध गरेको थियो । कुकले पनि साझेदारसँग मिलेर एप्पलले स्टोर खोलोस् भन्ने भारतले चाहेको बताएका थिए । भारतमा एप्पलले थर्ड पार्टी स्टोरबाट आफ्ना उत्पादन बिक्री गर्दै आएको छ । चीनमा पछिल्लो समय एप्पलको बिक्री सुस्त हुँदै गइरहेको छ । त्यसमाथि पछिल्लो समय फैलिएको कोरोना भाइरसको प्रकोपले असर गरेको छ । सोही कारण कम्पनीले भारत जस्ता विकास भइरहेका बजारको खोजीमा रहेको छ ।