काठमाडौं । साधारण सेयर (आईपीओ) निष्काशनको लागि अनुमति माग गर्दै तीनवटा कम्पनीहरूले नेपाल धितोपत्र बोर्डसमक्ष आवेदन दिएका छन् । बोर्डका अनुसार पछिल्लो पटक मोदी इनर्जी लिमिटेड, सोनापुर मिनिरल्स एन्ड आयल लिमिटेड र मेन्छीयाम हाइड्रोपावर कम्पनीले साधारण सेयर निष्काशनको लागि अनुमति माग गर्दै आवेदन दिएका हुन । जसमध्ये मोदी इनर्जीले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ७२ करोड ५० करोड रुपैयाँबराबरको ७२ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्न अनुमति माग गरेको छ । बोर्डका अनुसार उक्त कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । यसैगरी सोनापुर मिनिरल्स एन्ड आयल लिमिटेडले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी एक अर्ब २३ करोड रुपैयाँबराबरको एक करोड २३ लाख कित्ता साधारण सेयर निष्काशनको लागि अनुमति माग गर्दै बोर्डका आवेदन दिएको छ । उक्त कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । बोर्डका अनुसार मेन्छीयाम हाइड्रोपावर कम्पनीले पनि एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी १६ करोड २७ लाख ७५ हजार रुपैयाँबराबरको १६ लाख २७ हजार सात सय ५० कित्ता सेयर निष्काशनको लागि बोर्डसमक्ष आवेदन दिएको छ । बोर्डका अनुसार उक्त कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ ।