लन्डन, फागुन २०
बेलायतले सोमबार अमेरिकासँगको व्यापार वार्ताका लागि म्यान्डेट सार्वजनिक गरेको छ । प्रधानमन्त्री बोरिस जोन्सनले अमेरिकासँगको विशेष सम्बन्धको परीक्षा हुने गरी वार्तामा ठूलै सहुलियतसहितको माग अमेरिकासँग गर्ने संकेत गरेका छन् । जनवरीमा बेलायत युरोपेली संगठनबाट बाहिरिएको थियो । प्रधानमन्त्री जोन्सनले अमेरिकासँग व्यापार सम्झौता गर्ने यसअघि नै बताउँदै आएका छन् । बेलायतले व्यापार अवरोध पूर्णरुपेण हटाउन चाहेको छ । तर उसको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) भने वार्ताको टेबुलमा नहुने बताइएको छ । त्यस्तै खाद्य मानक पनि सन्तुलनमै राखिने बताइएको छ । बेलायतले छुट र सहुलियतसहित वार्ता गर्ने भएपछि दुवै देशबीच कडा छलफल हुने भएको छ । अमेरिकाले प्रतिबन्ध लगाएको चिनियाँ प्रविधि कम्पनी हुवावेलाई बेलायतले अनुमति दिएसँगै रुष्ट बनिरहेको छ । त्यसैमाथि कडा वार्ता नीति अख्तियार गरेपछि दुई देशबीचको छलफल पनि केही अप्ठ्यारो विन्दुमा पुग्न सक्ने रोयटर्सको अनुमान छ । साथै बेलायतले डिजिटल कर लगाउने समेत तयारी गरिरहँदा व्यापार वार्ता निष्कर्षमा कसरी पुग्ला भन्ने अनुमान एजेन्सीहरुले गरेका छन् ।
जोन्सनका अनुसार औद्योगिक प्रवद्र्धनका लागि बेलायतले राम्रै बार्गेनिङको तयारी गरेको छ । बेलायतले अप्रिलदेखि डिजिटल करको प्रस्ताव गरे पनि अमेरिकासँगको वार्तापछि त्यो हाललाई स्थगन समेत हुनसक्नेछ । अमेरिकासँगको सम्झौताले बेलायतको ट्रान्सएटलान्टिक व्यापार १५ अर्ब पाउन्डसम्मको हुनसक्नेछ । यसले बेलायती अर्थतन्त्रमा ३ अर्ब पाउन्ड थप गर्ने अनुमान गरिएको छ । बेलायतको पूरै अर्थतन्त्र २७ खर्ब डलरबराबरको छ । बेलायतको लागि ईयूपछि अमेरिका नै ठूलो व्यापारिक साझेदार हो । सन् २०१८ मा कुल निर्यातको १८ प्रतिशत हिस्सा अमेरिकाले ओगटेको बताइएको छ । त्यस्तै ४५ प्रतिशत ईयूको हिस्सा छ ।