काठमाण्डौँ,फागुन २१
चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वव्यापी बनेसँगै सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति तत्कालका लागि स्थगन गरेको छ ।कोभिड–१९ को सन्त्रास कम नभएसम्म श्रम स्वीकृति प्रदानको कार्य हाललाई स्थगन गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । अत्यावश्यकबाहेक अन्य कामका लागि विदेश नजान सरकारले आग्रह गरिसकेको अवस्थामा सो संक्रमण जोखिम रहेका मुलुकमा नेपाली कामदार पठाउन बन्द गरिएको मन्त्रालयले जनाएको छ । सरकारले यसअघि नै विदेश यात्रा रोक्न आग्रह गरेको थियो । साथै सर्वोच्च अदालतले पनि सोमबार प्रभावित मुलुकसँगको हवाई उडान स्थगन गर्न आदेश दिएको थियो । त्यही कारण मन्त्रालयले केही समयका लागि श्रम स्वीकृति प्रदान गर्न स्थगित गरेको जनाएको छ । कोरोनाको सन्त्रास हटेपछि श्रम स्वीकृति प्रदान गर्ने काम नियमित हुने बताइएको छ ।
अत्यावश्यक काममा बाहेक, अध्ययन, घुमफिर एवं मनोरञ्जन भ्रमणका लागि विदेश नजान अनुरोध गर्दै सरकारले विदेश जान चाहने विद्यार्थीहरूलाई हाललाई स्वीकृतिपत्र जारी नगर्ने, वैदेशिक रोजगारीमा जानेका लागि पनि अत्यावश्यक अवस्थाबाहेक नजान अपील गरेको थियो । दक्षिण कोरियामा कोरोनाको संक्रमण फैलिएपछि सरकारले यसअघि नै त्यहाँ जान रोक लगाइसकेको छ । विश्वभर कोरोनाको त्रास बढ्न थालेपछि बहराइन जान लागेका ३० नेपालीलाई केही दिनअघि संयुक्त अरब इमिरेट्सको दुवईबाट त्यहाँका अध्यागमन अधिकारीले फर्काएका थिए । ठूलो संख्यामा नेपाली कार्यरत विभिन्न श्रम गन्तव्य मुलुकमा कोभिड–१९ को संक्रमण देखिएको छ । दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स (यूएई), कतार, बहराइन र ओमनमा पनि कोरोना संक्रमित फेला परिसकेका छन् । कोरियामा झण्डै ४० हजार हाराहारीमा नेपाली विभिन्न काम तथा पेशामा संलग्न छन् । त्यस्तै मध्यपूर्वी मुलुकमा पनि झण्डै १० लाख नेपाली कार्यरत रहेका सरकारको तथ्यांक छ ।