काठमाडौं । नेपाल बुद्धिचाल संघको आयोजनामा काठमाडौंमा समृद्धि फाइनान्स नेसनल सिनियर (भेट्रान) चेस च्याम्पियनसिप सुरु भएको छ । च्याम्पियनसिपको पहिलो दिन शनिबार दुई चरणका खेल सम्पन्न भए । दुई चरणको समाप्तिमा बद्रीलाल नेपाली, फिडेमास्टर विलमलाल श्रेष्ठ, क्यान्डिडेटमास्टर नवीन तण्डुकार, बलराम नापीत, विजय गुरुङ, पुण्यमान कर्माचार्य र रामबहादुर क्षत्री समान दुई–दुई अंकका साथ अग्रता लिन सफल भए ।
च्याम्पियनसीपका शीर्ष खेलाडी पूर्वराष्ट्रिय च्याम्पियन विलमलालले पहिलो चरणमा भक्तपुर जगन्नाथ ताम्राकार तथा दोस्रो चरणमा क्यान्डिडेटमास्टर भगवतीप्रसाद शर्मालाई पराजित गरे । त्यसैगरी तीन पटकका राष्ट्रिय च्याम्पियन बद्रीलालले पहिलो तथा दोस्रो चरणमा क्रमशः काठमाडौंका सिताराम अग्रवाल एवं लवकुमार श्रेष्ठमाथि जित हात पारे । पूर्वराष्ट्रिय च्याम्पियन नवीनले बर्दीयाका किरण नापीत तथा सप्तरीका भुवनेश्वर चौधरीलाई पराजित गर्दा अर्का पूर्वराष्ट्रिय च्याम्पियन पुण्यमानले ललितपुरका विनय श्रेष्ठ एवं काठमाडौंका ज्ञानेन्द्रप्रसाद श्रेष्ठलाई हार चखाए । रूपन्देहीका विजय गुरुङ अनरेटेड रामकृष्ण शर्मा एवं भक्तपुरका गणेशमान दुवालसँग अंक खोस्न सफल भए । कास्कीका रामबहादुरले श्याम राजवाहक एवं कास्कीकै नरेन्द्र रानाभाटमाथि जित दर्ज गरे । दुई चरणको समाप्तिपश्चात् काठमाडौंका जनार्दन श्रेष्ठ, राजेन्द्रप्रसाद श्रेष्ठ र कैलालीका जीत बहादुर केप्छाकी समान १ दशमलब ५ अंकमा रहेका छन् ।
पुतलीसडकस्थित कान्तिपुर सिटी कलेजमा जारी तीनदिने च्याम्पियनसिपको व्यवस्थापन स्पोटस एन्ड इभेन्टस नेपालले गरेको छ । गत असार अन्तिम साता काठमाडौंमा सम्पन्न अधिवेशनबाट निर्वाचित बुद्धिचाल संघको नयाँ कार्यसमितिले हरेक वर्ष १५ वटा विधामा राष्ट्रिय प्रतियोगिताहरू आयोजना गर्ने निर्णय गरेको छ । नेपाली बुद्धिचाल खेल जगतका पहिलो पुस्ताका खेलाडीहरूलाई मध्यनजर गर्दै नेसनल सिनियर (भेट्रान्स) च्याम्पियनसिपबाट आफ्नो योजना कार्यान्वयन गर्न लागेको संघले यसै प्रतियोगितामा मार्फत नेपालमा पहिलो पटक डिजिटल चेस बोर्ड समेत प्रयोगमा ल्याएको छ ।
सातै प्रदेशका ३४ जना खेलाडीको सहभागिता रहेको च्याम्पिनसिपको कुल पुरस्कार राशि एक लाख ७४ हजार रुपैयाँ रहेको छ । स्वीस लिगअनुसार सात चरणमा सम्पन्न हुने च्याम्पियनशीपको विजेताले ५० हजार नगद प्राप्त गर्नेछन् । शनिबार आयोजित उद्घाट्न समारोहमा समृद्धि फाइनान्सका अध्यक्ष ठाकुर प्रसाद भट्टराईले सामाजिक उतरदायित्वअन्तर्गत प्रायोजन गरिएको यस च्याम्पियनसिपलाई आगामी संस्करणमा समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । च्याम्पियनसिपअन्तर्गत आइतबार तेस्रो, चौथो र पाँचौँ चरणका खेल सञ्चालन गरिने संघले जानकारी दिएको छ ।