काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते निर्वाचनको दिन प्रेसलगायत अत्यावश्यक सेवामा सञ्चालन हुने सवारीसाधनलाई अनुमति नलिई चल्न दिने भएको छ ।
सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९ स्वीकृत गर्दै आयोगले भनेको छ, ‘मतदानको दिन बिरामी बोकेको एम्बुलेन्स, खानेपानीको ट्यांकर, ‘दूध बोक्ने सवारीसाधन, दमकल, सूचना तथा प्रसारण विभाग वा प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालय वा प्रदेश सरकारमातहतको सञ्चार प्राधिकरण वा अन्य त्यस्तै प्रकृतिको नियामक निकायबाट जारी गरिएको प्रेस पास वा प्रचलित कानुनबमोजिम दर्ता र प्रेस काउन्सिल नेपालमा सूचीकृत भई सञ्चालनमा रहेका सम्बन्धित सञ्चारगृहबाट जारी परिचयपत्र वाहक सञ्चारकर्मीले प्रयोग गर्ने सवारीसाधनले सवारीसाधनका लागि अनुमति लिनु नपर्ने व्यवस्था गरिएको छ ।’
त्यस्तै, दूरसञ्चार तथा केबुल सेवाका लागि प्रयोग हुने सवारीसाधन, शववाहन, अस्पतालमा कार्यरत परिचयपत्रप्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आवागमनका लागि प्रयोग हुने सवारीसाधन, निर्वाचन आयोगबाट जारी परिचयपत्रवाहक पर्यवेक्षक, अवलोकनकर्ता, अनुगमनकर्ताले प्रयोग गर्ने सवारीसाधन, फोहोरमैला ओसारपसार गर्ने सवारीसाधन, तरकारी, फलफूल तथा विद्युत् सेवाका लागि प्रयोग हुने सवारीसाधन, कूटनीतिक नियोग, यूएन एजेन्सी र द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार संस्थाहरूमा कार्यरत पदाधिकारी एवं कर्मचारीले प्रयोग गर्ने निलो नम्बर प्लेट भएको सवारीसाधन, विदेशी पर्यटक मात्र बोकेको हरियो नम्बर प्लेट भएको सवारीसाधन, सुरक्षाकर्मीले प्रयोग गर्ने सुरक्षा निकायको सवारीसाधन, आफू खटिएको मतदान केन्द्रसम्म जान र मतदान केन्द्रबाट फर्किनको लागि मतदान कार्यमा खटिने कर्मचारी तथा स्वयंसेवकले प्रयोग गर्ने सवारीसाधनका लागि पनि अनुमति लिनु नपर्ने व्यवस्था गरिएको आयोगले जनाएको छ । तर त्यस्ता सवारीसाधन मतदाता ओसारपसार गर्ने कामको लागि प्रयोग गर्न पाइनेछैन ।
आयोगले उम्मेदवार वा उम्मेदवारको निर्वाचन प्रतिनिधिले मतदानको दिन सवारीसाधन प्रयोग गर्नका लागि तोकिएको ढाँचामा सम्बन्धित मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतसमक्ष भने निवेदन दिनुपर्ने जनाएको छ ।
उम्मेदवारबाहेक अन्य निकाय वा संस्थाले मतदानको दिन सवारीसाधन प्रयोग गर्न सम्बन्धित निकाय वा संस्थाको आधिकारिक लेटर प्याडमा सवारीसाधन नम्बर, सवारीसाधनको किसिम र सवारीसाधन प्रयोगकर्ताको नामसमेत उल्लेख गरी अनुमति जारी गर्ने निकाय वा अधिकारीसमक्ष निवेदन दिनुपर्नेछ ।
स्वीकृत मापदण्डबमोजिम मतदानको दिन अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाइ उडानको माध्यमबाट यात्रा गर्ने यात्रुहरूको हकमा पासपोर्ट, भिसा र हवाइ टिकटका आधारमा बासस्थानदेखि विमानस्थलसम्म र विमानस्थलदेखि यात्रुको बासस्थानसम्मको आवागमनको लागि सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले सहजीकरण गर्नुपर्नेछ ।
आयोगका अनुसार अपांगता भई आफैँ हिँड्डुल गर्न नसक्ने व्यक्तिको लागि बासस्थानदेखि मतदान केन्द्रसम्म र मतदान केन्द्रदेखि बासस्थानसम्म आवतजावत गर्न अवधि कायम रहेको पूर्ण अशक्त वा अति अशक्त अपांगता परिचयपत्रका आधारमा सवारीसाधनको प्रयोग गर्न सकिनेछ । अशक्तताको कारणले आफैँ हिँड्डुल गर्न नसक्ने व्यक्तिको हकमा सम्बन्धित वडा कार्यालयको सिफारिसमा निर्वाचन अधिकृतले तोकिएको ढाँचामा अनुमतिपत्र जारी गर्न सक्नेछ ।