काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ५४.७६ अर्ब दाबी भुक्तानी गरेको छ । यो नेपालको बीमा क्षेत्रमा गरिएको सर्वाधिक दाबी भुक्तानी हो । कम्पनीले २०७९ असोज मसान्तसम्म ५.०३ अर्ब मृत्युदाबी, १५.२६ अर्ब अवधि समाप्ति दाबी भुक्तानी, र १८.५३ अर्ब आंशिक अवधि भुक्तानी गरिसकेको छ । यसका साथसाथै अन्य शीर्षकजस्तै बीमा शुल्क भुक्तानी छुट, स्थायी पूर्ण अशक्तता दाबी, घातक रोगबापतको सुविधा र दुर्घटना मृत्यु लाभ सुविधाअन्तर्गत १५.९४ अर्ब कम्पनीले दाबी भुक्तानी गरिसकेको कम्पनीले जानकारी दिएको छ । बीमित र बीमकबीचको करारबमोजिम जोखिमको क्षतिपश्चात् वा अवधि समाप्तिपश्चात्को रकम यथासमयमा भुक्तानी (दाबी भुक्तानी) गर्न नेपाल लाइफ सदैव तत्पर रहेको कुरा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताएका छन् । अवधि भुक्तानी दाबी बीमाको अवधि समाप्तिपश्चात् भुक्तानी गरिन्छ भने मृत्युदाबी तथा अन्य क्षतिको दाबी बीमा अवधिभित्र जुनसुकै समयमा घटित घटनापश्चात् भुक्तानी गरिन्छ तर बीमा पूर्णतया अविच्छिन्न चालू रहनुपर्दछ । त्यस्तै आंशिक अवधि भुक्तानी, निश्चित अवधिको अन्तरालपश्चात् बीमा करारमा तोकिएबमोजिम रकम भुक्तानी गरिने गरिएको छ । बीमितहरुलाई छिटोछरितो चुस्त, दुरुस्त, तवरले दाबी भुक्तानी गरिरहेको नेपाल लाइफ इन्स्योरेन्सले देशैभरि सातैवटा प्रदेशमा फैलिएर रहेका एक सय ९७ वटा क्षेत्रीय कार्यालयहरुबाट बीमासम्बन्धी सम्पूर्ण सेवाहरु गुणस्तरीय रुपमा प्रदान गर्दै आइरहेको जानकारी दिएको छ ।