काठमाण्डौं,फागुन २३
राजस्व अनुसन्धान विभागले नक्कली मूल्य अभिवृद्धि कर बिल बनाई अनधिकृत कारोबार गरेको पाइएपछि एक सय ३० व्यावसायिक फार्म तथा कम्पनीलाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ । विभागले बिहीबार सार्वजनिक सूचना जारी गर्दै उक्त व्यावसायिक फार्म तथा कम्पनीलाई उपस्थित हुन निर्देशन दिएको हो । विभागले नक्कली भ्याट बिल र अन्तःशुल्क छली गरेको अभियोगमा दुई सयभन्दा बढी व्यावसायिक फार्म तथा कम्पनीमाथि अनुसन्धान गरिरहेको जनाएको छ । विभागका अनुसार पटक–पटक सम्पर्कमा आउन गरिएको आग्रहलाई व्यावसायिक फार्म तथा प्रतिष्ठानले अटेर गरेकाले उनीहरूलाई सार्वजनिक सूचनामार्फत उपस्थित हुन निर्देशन दिइएको हो । विभागले भ्याट बिल छली तथा अन्तःशुल्कमा समेत गैरकानुनीरूपमा छली गरेको पाइएकाले सार्वजनिकरूपमा नै उनीहरूलाई उपस्थित हुन भनेको विभागले जनाएको छ ।
वर्तमान सरकार गठन भएसँगै विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत राखिएको छ । नयाँ संरचनालगत्तै विभागले नक्कली भ्याट बिल तथा अन्तःशुल्क छलीको मात्रै १५ अर्ब रूपैयाँबराबरको मुद्दा अदालतमा दायर गरिसकेको छ । बिहीबार प्रकाशित सूचनामा ती व्यावसायिक फार्म तथा व्यापारिक प्रतिष्ठान सम्पर्कमा नरहेको र ती संस्थामा काम गर्ने व्यक्ति तथा मजदूरका नाममा बैंक खाता खोलेको पाइएको छ । उनीहरूलाई विभागले पटक–पटक सम्पर्कमा आउन आग्रह गर्दासमेत अटेर गरिएको बताइएको छ । विभागले ती फार्म अनुसन्धानको प्रक्रियामा रहेको जनाएको छ ।