काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडले यही पुस १६ गते आफ्नो १९औँ वार्षिक साधारणसभा गर्ने भएको छ । शुक्रबार बसेको बैंक सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विज्ञ समूह र उपसमितिको संयुक्त बैठकले पुस १६ गते शनिबार एकाइगतरूपमा गर्ने निर्णय भएको बैंकका अध्यक्ष केबी उप्रेतीले बताए । साधारणसभा सातवटै प्रदेशहरूमा सहकारी संघ/संस्थाका प्रतिनिधिहरूको भौतिक उपस्थितिमा एकैदिन सम्बन्धित प्रदेशहरूमा गर्ने अध्यक्ष उप्रेतीले जानकारी दिए । ‘गतवर्षको साधारणसभा सातै प्रदेशहरूमा फरक–फरक दिनमा गरेका थियौँ, यो पटक नयाँ अभ्यासका रूपमा एकैदिन गर्न लागेकोले धेरैभन्दा धेरै प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरेका छौं’, अध्यक्ष उप्रेतीले भने । बिहान भर्चुअलरूपमा साधारणसभाको सुरुवात गर्ने, प्रदेशस्तरीय एकाइ सभामा उपस्थित सम्बन्धित प्रदेशका प्रतिनिधिहरूले प्रस्तावहरू पारित गरेपछि निर्वाचन कार्यक्रम अगाडि बढाइने अध्यक्ष उप्रेतीले जानकारी दिए ।
प्रदेश नं. १ को विरानगर, मधेश प्रदेशको जनकपुर, बागमती प्रदेशको काठमाडौं, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा साधारणसभा गरिने भएको छ । साधारण सभाको एकाइ बैठकका प्रतिनिधिहरूको निर्णय प्रमाणित गर्ने सभा (केन्द्रीय) पुस १८ गते काठमाडौंमा गर्ने निर्णय भएको छ ।
सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचनसहितको साधारणसभामा सञ्चालक समितिको प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, आर्थिक वर्ष २०७८/०८७९ को लेखापरीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७९/०८० को प्रस्तावित बजेट तथा कार्यक्रम प्रस्तुत हुने बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईले बताए । उनका अनुसार साधारणसभामा लाभांश वितरण, विभिन्न कार्यविधिहरू संशोधन, विनियम संशोधन, कार्यसूचीमा थप भएका प्रस्ताव, आर्थिक वर्ष २०७९/०८० को लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने, नियमनकारी निकायको निर्देशनको जानकारी र साधारणसभाको एकाइ बैठकको निर्णय प्रमाणित गर्ने प्रतिनिधि तथा साधारणसभा (केन्द्र) को निर्णय प्रमाणित गर्ने एकाइ प्रतिनिधिहरूको छनोट गर्नेलगायतका विषय रहेका छन् । साधारणसभामा २०७९ मंसिर ८ गतेसम्म सदस्यता लिएका १५ हजार सात सय २६ सदस्य सहकारी संघ/संस्थाका एक एक जना प्रतिनिधिहरूले मात्र सहभागिता जनाउन पाउनेछन् ।
साधारणसभामा सदस्य संघ/संस्थाहरूको अधिकतम सहभागिताको अपेक्षा गर्दै साधारणसभामा उपस्थित प्रतिनिधिहरूले दिने सल्लाह/सुझाव बैंकको वार्षिक गतिविधि तथा कार्यसम्पादनमा मार्ग दर्शनकोरूपमा रहने भएकोले प्रदेशअन्तर्गतका एकाइ बैठकहरूमा सक्रिय उपस्थित भई सल्लाह/सुझावसहित साधारणसभालाई पूर्ण सफल बनाउनको लागि सम्बन्धित सहकारी संघ/संस्था तथा सरोकारवाला निकायहरूलाई समेत बैंकले अनुरोध गरेको छ ।