काठमाडौं । चालु आर्थिक बर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा पश्चात सेयरबजार उकालो लाग्न सक्ने आमलगानीकर्ताहरुको अपेक्षा बिपरित सेयर परिसुचक ओरालो लागेको छ ।
अघिल्लो दिन त्रैमासिक समिक्षा सार्वजनिक हुनुभन्दा केही घण्टा अघिसम्म उच्चरुपमा बढेको सेयर बजार परिसुचक एवं कारोबार रकम त्रैमासिक समिक्षा सार्वजनिक भएपछिको पहिलो दिन अर्थात आज सोमबार उच्च अंकले ओरालो लागेको छ । अघिल्लो दिन ३२ दशमलव ४३ अंकले उकालो लागेर दुई अर्ब दुई करोड रुपैंयाँको सेयर किनबेच भएको छ । तर सोमबार भने बजार परिसुचक १५ दशमलव ६१ अंकले ओरालो लागेर १९ सय ५० दशमलव ३७ बिन्दुमा झरेको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ६५ बिन्दुले ओरालो लागेर तीन सय ८२ दशमलव ६१ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ३६ वटा कम्पनीहरुको २४ हजार नौं सय ५१ पटक सेयर किनबेच भएको छ । जसबाट आज ३७ लाख ६१ हजार दुई सय ९९ कित्ता सेयर खरिद बिक्री भएको छ । सोही खरिद बिक्रीका आधारमा यसदिन कुल कारोबार रकम एक अर्ब ४९ करोड ४३ लाख ९४ हजार छ सय १३ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सामुहिक लगानी कोष र ट्रेडिङ उपसमुहको सुचक उकालो लागेर बाँकी उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।