काठमाडौं । कुमारी बैंकको विशेष साधारणसभा सम्पन्न भएको छ । बैंकले आइतबार सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप जबराको अध्यक्षतामा विशेष सभा सम्पन्न गरेको हो ।
सभाबाट विशेष प्रस्तावको रूपमा पेस गरिएको कुमारी बैंक लि. र नेपाल क्रेडिट एन्ड कमर्स बैंक लि. एक–आपसमा गाभ्ने÷गाभिने (मर्जर) गर्ने सम्बन्धमा गरिएको अन्तिम सम्झौतापत्र स्वीकृत गर्ने तथा मर्जरसम्बन्धी बाँकी कार्य र आवश्यक प्रक्रियाहरू पूरा गरी नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेडसँग मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । यसैगरी मर्जरसम्बन्धी समझदारी पत्र, संयुक्त मर्जर समिति गठन, दुवै संस्थाको सम्पत्ति तथा दायित्वको मूूल्यांकन गर्न सञ्चालक समितिबाट गरिएको लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिकका सम्बन्धमा भएको निर्णय अनुमोदन गर्ने, एक–आपसमा गाभ्ने÷गाभिने (मर्ज) प्रयोजनका लागि मूल्यांकनकर्ताबाट प्राप्त चल÷अचल सम्पत्ति तथा कारोबारको मूल्यांकन प्रतिवेदनको आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात १ः१ स्वीकृत गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
एक आपसमा गाभिएपछि बन्ने संस्था कुमारी बैंक लिमिटेड नै हुनेछ । सोपश्चात् बैंकको अधिकृत पुँजी, जारी पुँजी र चुक्ता पुँजी वृद्धि हुने भएकोले सोहीअनुसार पुँजी वृद्धि गरी वृद्धि भएको अधिकृत पुँजी, जारी पुँजी र चुक्ता पुँजीअनुसार प्रबन्धपत्रको दफा ५ (क), ५ (ख) र ५ (ग) संशोधन गर्ने तथा नियमावलीको नियम ८ मा सञ्चालक संख्या सात जना हुनेगरी र नियम २९ मा सञ्चालकको पारिश्रमिक, भत्ता र सुविधासम्बन्धी व्यवस्था संशोधन गर्ने प्रस्ताव समेत पारित गरिएको बैंकले जानकारी दिएको छ । कुमारी बैंक र नेपाल क्रेडिट एन्ड कमर्स बैंक एक–आपसमा गाभ्ने÷गाभिने (मर्ज) सम्पन्न भएपछि चुक्ता पुँजी २६ अर्बभन्दा बढी हुनेछ भने शाखा संख्या तीन सय ५५, एटीएम संख्या दुई सय ४४, एक्स्टेन्सन काउन्टर संख्या ५१, निक्षेप (ग्राहक) तीन खर्ब एक अर्बभन्दा बढी, कर्जा दुई खर्ब ७८ अर्बभन्दा बढी हुनेछ ।
कुमारी बैंकले आफ्ना सम्पूर्ण ग्राहकवर्ग, संस्थापक तथा सर्वसाधारण सेयरधनी, सञ्चार जगत, बैंकसँग सम्बन्धित विभिन्न सरकारी एवं नियमनकारी निकाय तथा सम्पूर्ण कर्मचारी वर्गको अहिलेसम्म प्राप्त सहयोग, सद्भाव तथा विश्वास आगामी दिनमा पनि निरन्तर रहिरहने अपेक्षा राख्दै आगामी दिनमा ग्राहकहरूलाई अझ छिटो, छरिटो र सरल बैंकिङ सेवा दिने क्रम जारी रहने प्रतिबद्धता व्यक्त गर्दछ ।