जाजरकोट । भूगोलमा पछि परेको कर्णाली क्षेत्रका कृषि उपजको पनि पछिल्लो समय ठूला सहरसम्म पहुँच पुगेको छ । जाजरकोट, जुम्ला र डोल्पा लगायतका क्षेत्रका उत्पादन स्वदेशका सहरदेखि विदेशसम्म पुग्न थालेका छन् ।
सहज यातायात व्यवस्था, अर्ग्यानिक उत्पादनप्रतिको आकर्षण र खानामा भातको विकल्प खोज्ने बानीका कारण यहाँका उत्पादनले ठूला सहरसम्म बजार पाएको महशुस गरिएको छ । जाजरकोटका गाउँमा उत्पादित मकै, सिमी, गाभा, सुन्तला, भटमास, अदुवा, लसुन तथा जुम्लामा उत्पादित मार्सी चामल, सिमी र कोदोको माग नेपालगञ्ज, काठमाडौँदेखि अमेरिका र क्यानडासम्म हुन थालेको छ ।
कृषि विकास कार्यालय जाजरकोटका सूचना अधिकारी टोपेन्द्र विकले जिल्लाबाट एक हजार छ सय क्विन्टलभन्दा बढी मकै नेपालगञ्ज पठाइएको जानकारी दिए । उनका अनुसार यहाँबाट सुन्तला पाँच टन, लसुन दुई सय ५० क्विन्टल र चार सय क्विन्टल भटमास नेपालगञ्ज पठाइएको छ । त्यस्तै जुम्लामा उत्पादित खाद्यान्न स्वदेशका विभिन्न सहरसहित विदेशसम्म पुग्ने गरेको छ । जुम्ला घर अग्र्यानिक एन्ड सुपर फुड्स प्रालिले यहाँ उत्पादन गरेका कृषिउपज विदेशमा बिक्री भइरहेको छ ।