काठमाडौं । ज्योति विकास बैंकले प्रदेश नं. १ का ३ अस्पताललाई बेबी वार्मर प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको हाम्रो विकास प्रवद्र्धन कोषमार्फत बाक्सिला स्वास्थ्य चौकी–खोटाङ, ओखलढुंगा सामुदायिक अस्पताल र जिल्ला अस्पताल–इलामलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान गरेको हो । बैंकले यी विभिन्न अस्पतालहरूलाई नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मर प्रदान गरेको हो ।
अस्पतालहरूमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकका विभिन्न पदाधिकारीहरूबाट बाक्सिला स्वास्थ्य चौकी, ओखलढुंगा सामुदायिक अस्पताल र इलाम जिल्ला अस्पतालका पदाधिकारीहरूलगायत सम्बन्धित क्षेत्रका विभिन्न पदाधिकारीहरूको उपस्थितिका बीच सो बेबी वार्मर औपचारिकरूपमा हस्तान्तरण गरिएको हो । साथै सोही कार्यक्रमका बीच अस्पतालका डाक्टर, नर्सलगायत विभिन्न सम्बन्धित कर्मचारीहरूलाई बेबी वार्मर सञ्चालनसम्बन्धी विशेष तालिम पनि प्रदान गराइएको थियो ।
बैंकले डा. महाविर पुनद्वारा प्रवद्र्धित राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा पछिल्लो दुई वर्षमा देशका २३ विभिन्न अस्पतालहरूलाई बेबी वार्मर प्रदान गरिसकेको छ र यसवर्ष थप १० वटा बेबी वार्मर प्रदान गर्दै छ । बैंकले हाल एक सय २० वटा शाखा कार्यालय, तीनवटा विस्तारित काउन्टर तथा ७३ वटा एटीएममार्फत सेवाउपलब्ध गराउँदै आइरहेको जानकारी दिएको छ ।
बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा १० करोड ९८ हजार तीन सय ३९ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा २१ करोड ७८ लाख ५५ हजार छ सय ७६ रुपैयाँ रहेको थियो । चुक्ता पुँजी चार अर्ब २६ करोड ७७ लाख ५३ हजार दुई सय ८७ रुपैयाँ रहेको बैंकले चालू आवको पहिलो त्रैमासमा ५३ अर्ब ९२ करोड २९ लाख ५३ हजार पाँच सय ८४ रुपैयाँ निक्षेप संकलन गरी ४८ अर्ब ५९ करोड ७४ लाख ९४ हजार ९२ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ५९ करोड ६३ लाख ६५ हजार आठ सय २१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ५० प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।